धनगढी, २० कार्तिक । थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुरमा पत्रकार सम्मेलन गरि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
पहिचानको आधारमा संघीय व्यवस्था लागुु हुनुपर्ने भन्दै लामो समयदेखि संघर्षरत मोर्चाले उठान गरको १४ बुँदे माग मुद्दा प्रति सरकार गम्भिर नभए कडा आन्दोलन गर्ने चेतावनी सहित कार्यक्रमको घोषणा गरेको हो ।
थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले मोर्चाले उठाएका माग मुद्दा प्रति सरकार गम्भिर नभए अगामी दिनमा कडा आन्दोलन गर्ने चेतावनी दिए ।
मोर्चाका कैलाली संयोजक माधव चौधरीले कैलालीका राजनितिक दलको जिल्ला कार्यालयमा थरुहट थारुपानले उठान गरेको माग मुद्दा र टीकापुरका विषयमा पार्टीको स्पष्ट धारणाको माग सहित ज्ञापन पत्र बुझाउने बताए । त्यस्तै टीकापुर राजबन्दीहरुलाई सहयोगका लागि अपिल गर्ने, अगामी मंसीर २० गते कैलालीमा आमसभा गर्ने र सभा सम्पन्न गर्न पहिचान र अधिकारका लागि संघर्षरत सम्पूर्ण मोर्चा, संगठन र राजनीतिक दलसंग समन्वय गर्ने र मोर्चाले उठान गरेका मागमुद्दा प्रति राज्यले वेवास्ता गरे राज्य विरुद्ध कडा भन्दा कडा आन्दोलन गर्ने बताए ।
मोर्चाले संघीयता संस्थागत गर्न संविधानको धारा २७४ लगायत पहिचान विरोधी धाराहरु र अनुसुची ४ संशोधन गर्नुपर्ने, थरुहट आन्दोलनको क्रममा टीकापुर घटना पश्चात विभिन्न मुद्धा लगाइएका थरुहट राजबन्दी सांसद रेशमलाल चौधरीसहितका मुद्धा खारेज गर्नुपर्ने लगायत माग उठान गर्दै आएको छ ।