नरेश राना / कञ्चनपुर/ ९ कार्तिक ।
‘लागूऔषधविरुद्धको खोप, खेलाडी उत्पादनमा जोड’ भन्ने मूल नाराका साथ कञ्चनपुरको पुनर्वास नगरपालिका–१० स्थित लालझाडी युवा क्लबको खेलमैदानमा दशौं लालझाडी कप पुरुष पालिका स्तरीय तथा महिला खुला फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ।
श्री लालझाडी युवा क्लब–११ को आयोजनामा प्रतियोगिता आगामी मंसिर ३ देखि ११ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताबारे जानकारी दिन आयोजकले कार्तिक ९ गते पत्रकार सम्मेलन आयोजना गरेको थियो। प्रतियोगिताको संरक्षक कञ्चनपुर जिल्ला फुटबल संघ रहेको छ।
प्रतियोगितामा पुरुषतर्फ पालिकास्तरीय र महिलातर्फ खुला प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फको विजेता टोलीले नगद ३ लाख रुपैयाँ र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, महिलातर्फको विजेता टोलीले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
व्यक्तिगत विधातर्फ पुरुषमा उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उदयीमान खेलाडी तथा उत्कृष्ट प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन्। प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई पुरुषतर्फ २ हजार ५०० रुपैयाँ प्रदान गरिनेछ।
महिलातर्फ उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछिन् भने उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उदयीमान खेलाडी तथा उत्कृष्ट प्रशिक्षकले जनही ३ हजार रुपैयाँ पाउनेछन्। प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई महिलातर्फ १ हजार १०० रुपैयाँ प्रदान गरिनेछ। पुरुष तथा महिला दुवै विधाका विजेतालाई ट्रफी, कप, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन पुरुषतर्फ १० हजार रुपैयाँ र महिलातर्फ १ हजार १०० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ। टोली दर्ताको अन्तिम मिति कार्तिक २५ गते तोकिएको छ।
आयोजकले सार्वजनिक गरेको नियमावलीअनुसार प्रत्येक टोलीमा १८ जना खेलाडी रहनेछन्। पुरुषतर्फ पालिकाबाहिरका तीन खेलाडीलाई playing ११ मा र विदेशी खेलाडी थप एक जना खेलाउन पाइने व्यवस्था छ। नियमावलीमा पालिकाबाहिरका चार र विदेशी दुई खेलाडीसम्म टोलीमा राख्न सकिने उल्लेख छ।
सहभागी टोलीले खेलाडीको नामावली, फोटो तथा नेपाली नागरिकता वा नाबालक परिचयपत्र दर्ताका समयमा अनिवार्य रूपमा बुझाउनुपर्नेछ। पुरुषतर्फ पालिकाभित्रका खेलाडीको नागरिकता अन्य स्थानको भएमा प्रतियोगिता सञ्चालन हुनुभन्दा ३५ दिनअघि नै बसाइँसराइ दर्ता प्रमाणपत्र लिएको हुनुपर्ने व्यवस्था गरिएको छ।
खेलाडीले जर्सी, जुत्ता र मोजा अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ। प्रतियोगिताका खेल फिफा, एएफसी तथा एन्फाका नियमअनुसार सञ्चालन गरिनेछन्। निर्धारित समयमा खेल बराबरी भएमा टाइब्रेकरबाट नतिजा निकालिनेछ भने तोकिएको समयभन्दा आधा घण्टाभन्दा बढी ढिलो उपस्थित हुने टोलीलाई वाकओभर दिइने नियमावलीमा उल्लेख छ।
पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष काशीराम बोहराले प्रतियोगिताका कार्यक्रम तथा नियमावलीबारे जानकारी दिँदै पत्रकारहरुका प्रश्नको जवाफ दिनुभएको थियो ।
क्लबका वरिष्ठ उपाध्यक्ष दीपेन्द्र कुँवरले स्वागत मन्तव्य राखेका थिए।
त्यसैगरी कार्यक्रममा पुनर्वास नगरपालिकाका उपप्रमुख भुलिया रानाले प्रमुख अतिथिका रूपमा सहभागी जनाउँदै शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा पुनर्वास नगरपालिका–१० का वडाध्यक्ष सुकदेव राना, वडा नं. ११ का वडाध्यक्ष तुलसी अर्याल, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का बोर्ड सदस्य निता खत्री, कञ्चनपुर जिल्ला खेलकुद समितिका राम खडका, सुदूरपश्चिम प्रदेश फुटबल संघका सदस्य खगेन्द्र ओझा तथा कञ्चनपुर जिल्ला फुटबल संघका उपाध्यक्ष दाउत तामाङलगायतको उपस्थिति थियो।
KDFAउपाध्यक्ष दाउत तामाङ, वडाध्यक्ष तुलसी अर्याल, वडाध्यक्ष सुकदेव राना लगायतका व्यक्तिहरुले कार्यक्रमको पूर्ण सफलताको लागि शुभकामना दिनुभएको थियोे ।
प्रतियोगिताले स्थानीय तथा क्षेत्रीय खेलाडीको प्रतिभा पहिचान र फुटबल खेलको विकासमा योगदान पुर्याउनुका साथै युवालाई लागूऔषधको दुर्व्यसनबाट टाढा राख्न प्रेरित गर्ने आयोजकको अपेक्षा छ।
प्रतियोगितासम्बन्धी थप जानकारीका लागि ९८०४६४७७११ र ९८००६००३५७ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।







