कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ मा पछिल्लो समय भैंसी चोरीका घटना बढ्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन्। गएराति मात्रै वडा नं. ४ का दुई छुट्टाछुट्टै स्थानमा भैंसी चोरी गर्ने प्रयास भएको घटना सार्वजनिक भएको छ।

स्थानीयका अनुसार लालझाडी गाउँपालिका–४ निवासी दर्शन रानापरमानन्द भारतीको घरमा रातिको समयमा भैंसी चोरी गर्ने उद्देश्यले चोरहरू प्रवेश गरेका थिए। घरमा भैंसी चोरी भइरहेको अवस्थामा स्थानीयवासीले थाहा पाएपछि चोरहरू भैंसी छोडेर भाग्न सफल भएका थिए।

दर्शन रानाको घरमा भैंसी चोरी भइरहेको अवस्थामा स्थानीयले चाल पाएपछि चोरहरू तत्कालै त्यहाँबाट भागेका थिए। स्थानीयको सक्रियताका कारण भैंसी चोरी हुनबाट जोगिएको बताइएको छ।

त्यसैगरी, परमानन्द भारतीको घरमा समेत रातिको समयमा भैंसी चोरी गर्ने प्रयास भएको स्थानीयले बताएका छन्। स्थानीयवासीले गतिविधि थाहा पाएपछि चोरहरू भैंसी लिएर जान नसकी भागेको बताइएको छ।

एकै रातमा वडा नं. ४ का दुई स्थानमा भैंसी चोरीको प्रयास भएपछि स्थानीयवासीमा थप त्रास र चिन्ता बढेको छ। गाउँघरमा रातको समयमा चोरीका घटना हुन थालेपछि पशुचौपाया पाल्दै आएका किसानहरू आफ्नो गोठ तथा घरको सुरक्षाप्रति थप सचेत हुनुपर्ने अवस्था देखिएको छ।

स्थानीयवासीले यस्ता घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित सुरक्षा निकायसँग माग गरेका छन्। साथै, रातिको समयमा गाउँमा सुरक्षा गस्ती बढाउन र चोरीका घटना नियन्त्रण गर्न स्थानीय प्रहरी तथा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ।

भैंसी तथा अन्य पशुचौपायाको चोरी रोक्न स्थानीयवासीले समेत रातिको समयमा समूह बनाएर निगरानी गर्ने, गोठ तथा घर वरपर अपरिचित व्यक्तिको गतिविधिमा ध्यान दिने र शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्नुपर्ने आवश्यकता देखिएको छ।

सेयर कर दियो ।