ज्ञानु राना / धनगढी

कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. ७ मनेहरामा खेलकुद क्षेत्रको विकास तथा खेलाडीहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले खेलाडी तथा प्रशिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको सभाध्यक्षता धनगढी उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष मोती राना थारुले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य प्रमोद मल्लको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै वडा, जिल्ला तथा प्रदेशको नाम उच्च राख्न सफल खेलाडीहरू तथा खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका प्रशिक्षकहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रमोद मल्लले खेलकुद क्षेत्र युवाहरूको भविष्य निर्माण गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै खेलाडीहरूको क्षमता विकासका लागि आवश्यक पूर्वाधार, प्रशिक्षण र अवसरको विस्तार गर्नुपर्ने बताउनुभयो। उहाँले खेलाडीहरूको निरन्तर मेहनत र अनुशासनले प्रदेश तथा देशको गौरव बढाउने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी सभाध्यक्ष मोती राना थारुले वडा स्तरबाट खेलकुद गतिविधिलाई प्राथमिकता दिइएको बताउँदै आगामी दिनमा खेलाडीहरूलाई थप प्रोत्साहन र सहयोग प्रदान गरिने जानकारी दिनुभयो। उहाँले खेलकुदले युवाहरूलाई सकारात्मक मार्गमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस क्षेत्रको विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रममा सहभागी खेलाडी तथा प्रशिक्षकहरूले सम्मान प्राप्त गर्न पाउँदा खुशी व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता जनाएका थिए। स्थानीय जनप्रतिनिधि, खेलप्रेमी, अभिभावक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको समेत उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

सम्मान कार्यक्रमले खेलाडी तथा प्रशिक्षकहरूको हौसला बढाउनुका साथै धनगढी–७ मा खेलकुद विकासका लागि थप सकारात्मक वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ।