नरेश राना / बेलौरी, कञ्चनपुर/ असार १४
बेलौरी नगरपालिकाले नसर्ने रोग नियन्त्रण तथा रोकथाम अभियान २०८३ अन्तर्गत पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम तथा प्रतिबद्धता पत्रमा हस्ताक्षर कार्यक्रम आइतबार नगरपालिकाको सभाकक्षमा सम्पन्न गरेको छ।
“म स्वस्थ, मेरो समुदाय स्वस्थः स्वस्थ बेलौरी, समृद्ध बेलौरी” भन्ने नारासहित आयोजित कार्यक्रमको अध्यक्षता बेलौरी नगरपालिकाका प्रमुख जोगराम चौधरीले गरेका थिए।

कार्यक्रमको मुख्य उद्देश्य समुदायमा नसर्ने रोगबारे जनचेतना अभिवृद्धि गर्ने, नियमित स्क्रिनिङलाई प्रोत्साहन गर्ने तथा स्वस्थ जीवनशैली अपनाउन सबै सरोकारवालालाई प्रतिबद्ध गराउनु रहेको बेलौरी नगरपालिका स्वास्थ्य शाखाका सीअहेव मानबहादुर चन्दले जानकारी दिए।
उनले भने “व्यक्तिले आफ्नो स्वास्थ्य राम्रो राख्न सके मात्र परिवार, समुदाय र राष्ट्रको स्वास्थ्य पनि सुदृढ बन्न सक्ने उल्लेख गर्दै अभियानलाई नगरव्यापी रूपमा अघि बढाइने बताए।” साथै, बेलौरी नगरपालिकालाई निकट भविष्यमा क्षयरोगमुक्त नगर घोषणा गर्ने तयारी भइरहेको जानकारी पनि दिए।
कार्यक्रमका सभाध्यक्ष नगर उपप्रमुख जाेगराम चाैधरीले पछिल्लाे समयमा हाम्रो खानपान र जिवनशैलीका कारण मानिसकाे स्वास्थ्यमा नसर्ने राेगकाे जाेखिम बढी रहेकाले सबै सचेत हुनु पर्ने बताए । उनले भने “हाम्रो नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा थुप्रै क्षेत्रमा पुर्ण सफल रूपमा काम गर्दै आएकाे बताउदै स्वास्थ नगर बनाउने अभियानमा जुटेका छाै, यसमा सबैबाट सहयाेगकाे अपेक्षा समेत राखेकाे बताए ।”
नेपाल पत्रकार महासंघ कञ्चनपुरका काेषाक्षध्य माेन विष्टले यस अभियान पुर्ण सफलताकाे शुभकामना व्यक्त गरे । उनले “आफैबाट भनेर मात्र नभई गरेर नसर्ने राेग नियन्त्रण अभियानमा जुटन सबैमा अनुराेध गर्दै यस्ताे कार्यक्रम आयाेजना गरिएकाेमा आयाेजक प्रती हार्दिक आभार सहित धन्यावाा प्रकट गरे ।”
कार्यक्रमका मुख्य प्रशिक्षक सिद्धराज भट्ट, जनस्वास्थ्य निरीक्षक, स्वास्थ्य कार्यालय कञ्चनपुरले नसर्ने रोगको बढ्दो जोखिमप्रति सचेत गराउँदै तथ्यांक प्रस्तुत गरे। उनका अनुसार हरेक १०० जनामध्ये करिब ३० जनाको मृत्यु मुटु तथा रक्तनलीसम्बन्धी नसर्ने रोगका कारण हुने गरेको छ। उनले अस्वस्थ खानपान, धूमपान, मद्यपान, शारीरिक निष्क्रियता लगायतका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको उल्लेख गर्दै स्वस्थ जीवनशैली अपनाउन सबैलाई आग्रह गरे।
भट्टले सरुवा रोगबाट हुने मृत्युको दर पनि अझै चुनौतीपूर्ण रहेको बताउँदै दुवै प्रकारका रोगबाट बच्न समयमै स्वास्थ्य परीक्षण, सन्तुलित आहार, नियमित व्यायाम र स्वस्थ बानीको विकास आवश्यक रहेको बताए।
कार्यक्रममा सहभागी जनप्रतिनिधि, उद्योगी–व्यवसायी, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालाले आफ्नो-आफ्नो क्षेत्रबाट नसर्ने रोग नियन्त्रण तथा रोकथामसम्बन्धी जनचेतना फैलाउने र अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए।
बेलौरी नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, उद्योगी, व्यवसायी, पत्रकार तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाले गरेको थियो।
यस अभियानले बेलौरी नगरपालिकामा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्दै नसर्ने रोगको जोखिम न्यूनीकरण र स्वस्थ समुदाय निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।







