बेलडाँडी गाउँपालिकाले आर्थिक अनुशासन र पारदर्शितामा उल्लेखनीय सुधार गर्दै कञ्चनपुरमै उदाहरणीय नतिजा प्रस्तुत गरेको छ । गाउँपालिका प्रमुख हरिशचन्द्र रानाको नेतृत्वमा अघि बढाइएको बेरुजु न्यूनीकरण अभियानले यस वर्ष प्रत्यक्ष परिणाम दिएको हो ।
महालेखा परीक्षकको कार्यालयले जेठ १ गते राष्ट्रपति कार्यालयलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/०८१ मा ४.०६ प्रतिशत रहेको बेलडाँडी गाउँपालिकाको बेरुजु आर्थिक वर्ष २०८१/०८२ मा घटेर ०.४९ प्रतिशतमा झरेको छ । अर्थात् बेलडाँडीले एक वर्षमै करिब ८.२९ गुणाले बेरुजु घटाउन सफलता हासिल गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा शुक्लाफाँटा नगरपालिका ०.३६ प्रतिशतसहित पहिलो स्थानमा रहँदा बेलडाँडी गाउँपालिका ०.४९ प्रतिशत सहित दोस्रो उत्कृष्ट पालिका बनेको छ । त्यसपछि दोधारा चाँदनी नगरपालिका ०.५८%, कृष्णपुर नगरपालिका ०.७३%, बेलौरी नगरपालिका ०.८४%, बेदकोट नगरपालिका ०.८७%, भीमदत्त नगरपालिका १.२% र लालझाडी गाउँपालिका २.१३% बेरुजुमा रहेका छन् । पुनर्वास नगरपालिकाको विवरण भने श्रेस्ता जेनजी आन्दोलनका क्रममा जलेका कारण सार्वजनिक हुन सकेको छैन ।
बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण विकले आगामी वर्ष अझै कम बेरुजु ल्याउने लक्ष्यसहित काम भइरहेको बताए । उनका अनुसार जनताको पैसाको सही सदुपयोग, पारदर्शी योजना कार्यान्वयन र वित्तीय अनुशासन कायम राख्ने अभियानलाई अझ प्रभावकारी बनाइनेछ । अव आउदो बर्ष बेरुजु अझै धेरै घट्ने उहाँले बताउनु भयो । बेरुजु घटाउन विभिन्न कार्य यसपालि समेत गरिएको उहाँले जानकारी गराउनु भयो ।







