नरेश राना / लालझाडी
कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं २ मा रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय कञ्चनपुरले आफ्नी सदस्यको दुःखद अवस्थालाई मध्यनजर गर्दै कर्जा मिनाहा गरी मानवीय सहयोगको उदाहरण प्रस्तुत गरेको छ।
लालझाडी गाउँपालिका वडा नम्बर ३, बल्मी निवासी मुना देवी रानाका श्रीमान् मान सिंह राना अचानक बिरामी परेपछि उपचारका लागि कैलालीस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा २०८२ साल फागुन २० गते उनको निधन भएको थियो, जसले परिवारलाई गहिरो शोकसँगै आर्थिक संकटमा पनि पारेको थियो।
मुना देवी रानाले करिब एक वर्षअघि उक्त लघुवित्त संस्थाबाट रु १ लाख ७५ हजार कर्जा लिएकी थिइन्। श्रीमान्को असामयिक निधनपछि कर्जा तिर्ने अवस्था कमजोर बनेको अवस्थालाई ध्यानमा राख्दै संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कर्जा पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको शाखा प्रमुख नरेश कुमार बोहरा ले जनाएको छ।
संस्थाका अनुसार मुना देवी रानाको नाममा रहेको रु १,७५,००० (एक लाख पचहत्तर हजार) बराबरको सावाँ कर्जा मिनाहा गरिएको हो। साथै, परिवारलाई तत्काल राहत प्रदान गर्ने उद्देश्यले रु १५,००० (पन्ध्र हजार) क्रिया खर्चसमेत उपलब्ध गराइएको शाखा प्रमुख बोहरा ले जानकारी दिएको छ।
यस कार्यले दुःखद परिस्थितिमा परेका सदस्यहरूलाई राहत प्रदान गर्नुका साथै संस्थाप्रति विश्वास अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। स्थानीयवासीहरूले संस्थाको यस कदमलाई सहानुभूतिपूर्ण र प्रशंसनीय कार्यको रूपमा लिएका छन्।






