कञ्चनपुर । कञ्चनपुरबाट बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा २ जना मन्त्री भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक सांसद गीता चौधरी र प्रतिभा रावलले बालेन नेतृत्वको सरकारमा मन्त्रालय हाँक्ने जिम्मेवारी पाएका छन्।
चौधरीलाई कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ भने रावलले संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
३ निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा ३ वटैमा रास्वपा विजयी भएको थियो। कञ्चनपुरबाट समानुपातिकतर्फ रास्वपाका २ सांसद छन्। नेकपा एमालेबाट कृपाराम राना र नेकपाबाट निराशा चौधरी गरी कञ्चनपुरबाट संघीय संसदमा ७ सांसद छन्।
वकिलको काँधमा कृषि मन्त्रालय
नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट राजनीति शुरू गरेकी गीता चौधरी यसै पटक रास्वपा प्रवेश गरेर चुनावमा होमिएकी थिइन् । कञ्चनपुरको शुक्लाफाँटाकी चौधरी सामान्य कृषक परिवारमा जन्मिएकी हुन। उनले कानुनमा स्नाकोत्तरसम्मको अध्ययन गरेकी छन्।
उनका हजुरबुवा कमैया कुनै बेला कमैया बसेका थिए। कमैया बसेकै बेला पनि उनले छोराछोरीलाई स्कुल पठाएका थिय। यसै कारण उनले पनि सहजै अध्ययन गर्न सकिन्। स्कुल पढ्दा उनी सानैदेखि बाल क्लब हुँदै युवा क्लबलगायतका विभिन्न संघसंस्थामा आवद्ध भएर काम गर्थिन्।
गाउँमा वालविवाह रोक्ने विषयमा होस् वा समाजमा हुने गलत विषयमा अरुभन्दा एक कदम अगाडि बढेर विरोधमा उत्रिहाल्ने उनको स्वभाव थियो। नेता बन्न कानुनको ज्ञान हुनु पर्ने लागेपछि उनले कानुन पढेकी थिइन्। त्यसपछि उनले वकालत पनि थाल्नि।
वकालत गर्दा गर्दै उनी अहिले कृषि मन्त्रालय हाँक्ने जिम्मेवारीमा पुगेकी छिन्। चौधरीले मानव अधिकारका क्षेत्रमा पनि काम गरेकी छिन्। युथ एडभोकेसी नेपाल नामक संस्थाकी संस्थापक समेत रहेकी उनी वकालतसँगै मानव अधिकारका क्षेत्रमा कार्यरत थिइन्।
चौधरीले २०७९ को प्रदेश सभामा चुनावमा नाउपाबाट कञ्चनपुर २(१) मा प्रतिस्पर्धा गरेकी थिइन्। तर सफल हुन सकिनन्। २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा चुनावको केही समयअघि उनी नाउपाबाट रास्वपामा समाहित भएकी थिइन्।
उनको समुदायका किशोरीहरु कमलरी बस्ने तथा स्कुल नगइ घरायसी काम अलमलिने धेरै छन्। स्कुल गएकाहरूले पनि बीचमै पढाइ छाडेका छन्। तर गिताले ती सबै संघर्षलाई छिचोल्दै आफ्नो अध्ययनलाई निरन्तरता दिइन्।
प्रतिभा रावल सञ्चारकर्मी हुँदै मन्त्री
भीमदत्त नगरपालिका-६ ऐठपुरमा जन्मिएकी ३२ वर्षीया प्रतिभा रावल सञ्चारकर्म हुँदै मन्त्री बनेकी छन्। रास्वपा सभापति रवि लामिछाने निकट रावल ग्यालेक्सी टेलिभिजनमा कार्यक्रम निर्माता थिइन्।
दशक लामो पत्रकारितालाई बिट मार्दै रावल रास्वपामा जोडिएकी थिइन्। उनले साउथ एसिया चेक, रिपब्लिका र ग्यालेक्सी टिभी लगायतका मिडियामा काम गरेकी थिइन्। उनले एसएलसीसम्मको अध्ययन महेन्द्रनगरमा गरिन्।
५ वर्षकै उमेरमा बुबाको मृत्यु भएपछि प्रतिभा र उनका दाइलाई आमा माया रावलले अनेक संघर्ष गरेर हुर्काइन्। संघर्षबीच पत्रकारिता हुँदै राजनीतिमा प्रवेश गरेकी प्रतिभाको काँधमा संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी आएको छ।







