काठमाडौं — २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथग्रहण १२ चैतमा हुने भएको छ।

२७५ सदस्यीय प्रतिनिधिसभामा सबैभन्दा ज्येष्ठ सदस्य रहेका नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट शपथ लिएपछि अन्य सांसदहरूलाई शपथ गराउने कार्यक्रम तय गरिएको छ।

यसैबीच, कञ्चनपुरबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित सांसद कृपाराम राना र गीता चौधरीले मातृभाषामै शपथ लिने तयारी गरेका छन्। कृपाराम रानाले रानाथारू भाषामा तथा गीता चौधरीले थारू भाषामा शपथ लिने जनाइएको छ।

शपथसम्बन्धी ऐन २०७९ अनुसार सांसदहरूले आफ्नो मातृभाषामा शपथ लिन पाउने व्यवस्था रहेको छ। सोही प्रावधानअनुसार दुवै सांसदले आफूले रोजेको भाषाको विवरण संघीय संसद सचिवालयमा दर्ता गराइसकेका छन्।

मातृभाषामा शपथ लिने तयारीलाई भाषिक विविधताको सम्मान र संरक्षणका दृष्टिले महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।