नरेश राना / कञ्चनपुर
कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. ४ जाई–पर्सियामा आयोजित प्रथम SYC फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको फाइनल खेलमा देखातभुली स्पोर्ट क्लबले सुदूरपश्चिमाञ्चल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।
फाइनल खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। खेलको सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको देखातभुली स्पोर्ट क्लबले उत्कृष्ट टिमवर्क र रणनीतिक खेल प्रदर्शन गर्दै सुदूरपश्चिमाञ्चल पुलिस क्लबमाथि जित हासिल गर्न सफल भयो। खेल हेर्न स्थानीय दर्शकहरूको ठूलो उपस्थिति रहेको थियो, जसले खेल मैदानमा उत्साहपूर्ण माहोल सिर्जना गरेको थियो।

आयोजकका अनुसार प्रतियोगितामा विजेता बनेको देखातभुली स्पोर्ट क्लबले नगद रु. ६५ हजार ५ सय ६५, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी उपविजेता बनेको सुदूरपश्चिमाञ्चल पुलिस क्लबले नगद रु. ४१ हजार १ सय ४१, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको आयोजक समितिले जनाएको छ।
प्रतियोगिताको समापन समारोहका सभाध्यक्ष प्रथम SYC फुटबल प्रतियोगिताका सह–सचिव दायाराम राना रहनुभएको थियो। कार्यक्रमकी प्रमुख अतिथि लालझाडी गाउँपालिकाकी उपाध्यक्ष सपना चौधरी राना रहनुभएको थियो। यसैगरी विशिष्ट अतिथिहरूमा लालझाडी गाउँपालिकाकी कार्यपालिका सदस्य बासमती राना, वडा नं. ४ की वडा सदस्य डल्ली देवी चौधरी तथा वडा नं. १ का वडा सदस्य राजकुमार डगौरा सहभागी रहनुभएको थियो।

समापन समारोहलाई सम्बोधन गर्दै अतिथिहरूले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सकारात्मक गतिविधितर्फ अग्रसर गराउने उल्लेख गर्दै ग्रामीण क्षेत्रमा यस्ता प्रतियोगिताले खेलकुद विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। उनीहरूले आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
यसै अवसरमा प्रथम महिला खेलकुद प्रतियोगिता पनि सम्पन्न गरिएको आयोजकले जनाएको छ। उक्त प्रतियोगिताअन्तर्गत विभिन्न उमेर समूहका खेलाडीहरूले कराँते डोजो लगायतका विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गरेका छन्।

स्थानीय युवाहरूको सक्रियता र समुदायको सहयोगमा सम्पन्न भएको प्रतियोगिताले खेलकुदमार्फत आपसी सद्भाव, प्रतिभा पहिचान तथा युवाहरूमा खेलप्रतिको आकर्षण बढाउन महत्वपूर्ण योगदान पुर्याएको आयोजक समितिले जनाएको छ।







