ज्ञानु राना /धनगढी, कैलाली —
धनगढी उपमहानगरपालिका वडा नं. १५ अन्तर्गत पर्ने उर्मी गाउँमा सांस्कृतिक तथा खेलकुद कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय युवा, समाजसेवी तथा बुद्धिजीवीहरूको सक्रिय सहभागितामा आयोजित उक्त कार्यक्रमले गाउँको सामाजिक एकता, सांस्कृतिक संरक्षण र खेलकुद विकासलाई थप मजबुत बनाएको आयोजकले बताएका छन्।

कार्यक्रमको सभाध्यक्षता शिवराज रानाले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा वडा नं. १५ का वडाध्यक्ष श्री सुकदेव रानाको उपस्थिति रहेको थियो। त्यस्तै विशिष्ट अतिथिहरूमा श्रीमती सिता कुमारी राना (कालिका सा.व.उ.स, धनगढी–१५ उर्मी), वडा सदस्य श्री मन्त्री राना, वडा सदस्य श्रीमती सुस्मा चौधरी तथा वडा सदस्य श्री दलबहादुर रोकाया सहभागी हुनुभएको थियो।
कार्यक्रममा उर्मी गाउँका भल्मन्सा, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उर्मी गाउँकी होरीहरूको समेत विशेष सहभागिता रहेको कार्यक्रमलाई स्थानीयवासीहरूले उत्सवको रूपमा मनाएका थिए।

कार्यक्रममा स्वागत मन्तव्य गौतम रानाले व्यक्त गर्नुभएको थियो। उहाँले गाउँमा यस्ता कार्यक्रमले सामाजिक सद्भाव, आपसी सहयोग र युवा पुस्तालाई सकारात्मक गतिविधितर्फ प्रेरित गर्ने बताउनुभयो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित गायिका श्री लक्ष्मी रानाले आफ्नो सुमधुर प्रस्तुति दिनुभएको थियो। उहाँको गायनले उपस्थित दर्शकलाई निकै मनोरञ्जन प्रदान गरेको थियो। साथै स्थानीय कलाकारहरूले पनि विभिन्न सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरी कार्यक्रमलाई अझ रोचक बनाएका थिए।
यस अवसरमा आयोजित भलिबल प्रतियोगितामा विभिन्न युवाक्लबहरूबीच कडा प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा भुइँयाघाट युवा क्लबले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भयो। धनगढी युवा क्लबले दोस्रो स्थान प्राप्त गरेको थियो भने जालि युवा क्लबले तेस्रो स्थान हासिल गरेको आयोजक समितिले जनाएको छ।
कार्यक्रममा अतिथिहरूले खेलकुद तथा सांस्कृतिक कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा फैलाउने, युवाहरूलाई अनुशासित र सक्रिय बनाउने तथा स्थानीय संस्कृति जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। उनीहरूले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
स्थानीय समुदायको सक्रिय सहभागिता र सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रमले उर्मी गाउँमा उत्साह, एकता र सांस्कृतिक चेतनालाई अझ सुदृढ बनाएको स्थानीय बासिन्दाहरूले बताएका छन्।







