नरेश राना / कञ्चनपुर
कञ्चनपुर — कञ्चनपुरको लालझाडी गाउँपालिकामा प्रथम महिला खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ। स्थानीय युवाहरूको सक्रियतामा स्थापना भएको स्वतन्त्र युवा क्लब जाई, पर्सियाको आयोजनामा तथा लालझाडी गाउँपालिकाको आर्थिक सहयोगमा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो।
आयोजक संस्थाका अध्यक्ष रामकृष्ण रानाका अनुसार महिलालाई खेलकुद क्षेत्रमा सहभागी गराई उनीहरूको क्षमता, प्रतिभा र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिता यही फाल्गुन ३० गते बिहान १० बजे सञ्चालन गरिने भएको छ।
प्रतियोगितामा विभिन्न खेल विधामा महिला खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन चाहने खेलाडी तथा टिमका लागि प्रवेश शुल्क (इन्ट्री फिस) पूर्ण रूपमा निःशुल्क राखिएको छ, जसले गर्दा धेरैभन्दा धेरै महिलालाई खेलकुदमा सहभागी गराउने अपेक्षा गरिएको आयोजकको भनाइ छ।

यसै अवसरमा स्वतन्त्र युवा क्लब (SYC) द्वारा आयोजित प्रथम फुटबल प्रतियोगिताको फाइनल खेल दिउँसो २ बजे देखत भुली स्पोर्ट क्लब V/S सुदूपश्चिमाञ्चल पुलिस क्लब बिच सम्पन्न गरिने जानकारी आयोजक समितिले दिएको छ। फाइनल खेलले कार्यक्रममा थप उत्साह र आकर्षण ल्याउने विश्वास गरिएको छ।
स्थानीय स्तरमा महिलालाई खेलकुदमार्फत सशक्त बनाउने र सामाजिक सहभागिता बढाउने लक्ष्यसहित आयोजना गर्न लागिएको उक्त कार्यक्रमले लालझाडी क्षेत्रको खेलकुद विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।







