हालै सम्पन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका अनिल रानाले आफू निर्वाचन परिणामबाट पछि परे पनि आफ्नो उद्देश्य र समुदायको अधिकारका लागि लड्ने संकल्प अझ बलियो बनेको बताएका छन्। उनले चुनावी प्रतिस्पर्धामा हार व्यहोरे पनि रानाथारु समुदायको पहिचान, अधिकार र सम्मानका लागि सुरु गरिएको संघर्ष रोकिने नसक्ने स्पष्ट पारेका छन्।
उनी सुदूपश्चिमाञ्चल को कञ्चनपुर जिल्लाको क्षेत्र नं १ बाट स्वतन्त्र उमेदवार दिनु भएको थियो। निर्वाचन परिणाम सार्वजनिक भएपछि सार्वजनिक सन्देश जारी गर्दै रानाले देशभर ठूला दलका शक्तिशाली संगठन र उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेका बेला आफूले कुनै राजनीतिक दल, ठूलो संगठन वा कार्यकर्ताको फौज बिना पनि दृढतापूर्वक चुनावी मैदानमा उभिएको उल्लेख गरेका छन्। उनले अनेक प्रकारका व्यक्तिगत आरोप, दबाब र चुनौतीका बीच पनि आफू एक इन्च पनि विचलित नभई संघर्षमा उभिएको बताए।
उनका अनुसार यस चुनावी प्रतिस्पर्धाको मुख्य उद्देश्य वर्षौँदेखि राजनीतिमा उपेक्षित रानाथारु समुदायको अस्तित्व, पहिचान र अधिकारको आवाज उठाउनु थियो। उनले राजनीतिमा सधैँ विजय मात्र नभई कहिलेकाहीँ इतिहासमा आफ्नो नाम र समुदायको पहिचान स्थापित गर्न पनि लड्नुपर्ने अवस्था आउने बताएका छन्।
“परिणामले मलाई हराएको हुन सक्छ, तर मेरो उद्देश्य र रानाथारु समुदायलाई जिताउने सपना हराउन सकेको छैन,” रानाले सन्देशमा उल्लेख गरेका छन्। उनले निर्वाचनको नतिजालाई अन्त्य नभई नयाँ सुरुवातका रूपमा लिएको पनि बताए।
रानाले आफूलाई विश्वास गरेर अमूल्य मत दिएका सम्पूर्ण मतदाता तथा चुनावी अभियानमा व्यक्तिगत सुख–सुविधा त्यागेर अहोरात्र खटिएका आफ्ना समर्थक र टिमप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनका अनुसार परिवर्तनको बीउ रोपिएको छ र त्यसले फल दिन केही समय लागे पनि एक दिन त्यसले सकारात्मक परिणाम दिनेमा उनी पूर्ण विश्वस्त छन्।
उनले आफूविरुद्ध चुनावी अभियानका क्रममा भएका अनावश्यक आलोचना, आरोप–प्रत्यारोप र टिकाटिप्पणीलाई पनि समयले नै जवाफ दिने बताएका छन्। “समयको चक्र फेरिनेछ र अनिल फेरि आशाको नयाँ किरण बनेर आउनेछ,” उनले उल्लेख गरेका छन्।
रानाले आफू पदमा रहोस् वा नरहोस्, समुदाय र जनताको सुख–दुःखमा सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आगामी दिनमा नयाँ योजना, रणनीति र दृष्टिकोणका साथ पुनः सक्रिय भएर जनताको सेवामा आउने संकेत पनि दिएका छन्।
स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका रानाले चुनावी परिणामलाई सम्मान गर्दै देशले परिवर्तनको बाटो रोजेकोमा आफूलाई गर्व लागेको बताएका छन्। उनले अन्त्यमा सम्पूर्ण समर्थक, मतदाता र शुभेच्छुकप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन्।







