नरेश राना / कञ्चनपुर

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दिपकराज बोहरा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले ३३ हजार ९ सय ५२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका एनपी साउदले १० हजार ८ सय २७ मत प्राप्त गरेका छन्। त्यसैगरी नेकपा (एमाले)का बचनबहादुर सिंह ६ हजार ४ सय १८ मतसहित तेस्रो स्थानमा रहे।

यसैबीच नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का माधव पन्तले ६ हजार ३ सय ३७ मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीर्थराज चटौत भने १ हजार ९ सय ९३ मत मात्रै प्राप्त गर्दै धरौटी जोगाउन असफल भएका छन् । निर्वाचन क्षेत्र नम्बर २ मा कुल ६५ हजार ३ सय ४७ मत खसेको थियो।

जसमध्ये ६१ हजार १ सय १७ मत सदर भएको र ४ हजार २ सय ३० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत प्रकाश भण्डारीले निर्वाचित उम्मेदवार बोहरालाई निर्वाचन आयोगका तर्फबाट बधाई ज्ञापन गर्दै निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए।