काठमाडौं, नयाँ वर्ष २०८२ सालको अवसर पारेर नेपाल रानाथारु युवा समाजको आयोजनामा शुभकामना आदानप्रदान तथा Dry Picnic कार्यक्रम गोदावरी स्थित वनस्पति उधानमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा रानाथारु समुदायका काठमाडौं उपत्यकामा बसोबास गर्ने युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै आपसी सम्बन्ध सुदृढ गर्दै सांस्कृतिक, शैक्षिक र सामाजिक विषयमा युवाहरूको सक्रियता अभिवृद्धि गर्नु रहेको आयोजक समितिले जनाएको छ ।
कार्यक्रममा नाचगान, रमाइला खेलकुदहरू, समूहगत संवाद, परिचय आदानप्रदान, तथा विविध मनोरञ्जनात्मक गतिविधिहरूको आयोजना गरियो । साथै समाजको केन्द्रीय समितिमा नयाँ सदस्यहरूको समावेश सहित समिति विस्तार गरिएको जानकारी दिइएको छ ।
कार्यक्रममा आगामी दिनमा समाजले सञ्चालन गर्ने विभिन्न योजनाहरू जस्तै भाषा संरक्षण, शैक्षिक कार्यक्रम, रोजगारमुखी तालिम तथा रानाथारु सांस्कृतिक कार्यक्रमहरूबारे समेत गहिरो छलफल भएको थियो । सहभागीहरूले समुदायको पहिचान, एकता र प्रगतिका लागि युवाहरूको भूमिकाको विशेष महत्व रहेको धारणा राखे ।
यस कार्यक्रमलाई सफल बनाउन विभिन्न माध्यमबाट साथ, सहयोग तथा सहभागिता जनाउने सम्पूर्ण युवा साथीहरू, दाजुभाइ तथा दिदीबहिनीहरूलाई आयोजक समितिको तर्फबाट विशेष धन्यवाद तथा आभार व्यक्त गरिएको छ ।
नेपाल रानाथारु युवा समाजले आगामी दिनहरूमा थप प्रभावकारी कार्यक्रमहरू आयोजना गर्दै समुदायको सामाजिक तथा सांस्कृतिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।