रानाथारू सामुदायमा तिजको रोनक, गाउँ-गाउँमा तिजको चहलपहल बढदै

रानाथारू सामुदायमा तिजको रोनक, गाउँ-गाउँमा तिजको चहलपहल बढदै

कञ्चनपुर,१२ सावन । रानाथारू सामुदायमा तिजको रोनक, रानाथारू गाउँमा तिजको चहलपहल बढदैगइरहेकाे छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैना गाउमा राना थारु युवा शक्ति क्लबले गाउँको बीच भागमा दिदीबहिनीहरुका लागि डोला (पिङ) राखेका छन्।

नेपाल रानाथारू सामजका केन्द्रिय अध्यक्ष कृपाराम रानाकाे प्रमुख अतिथ्यमा सावनको डोला ( पिङ)लाइ एक कार्यक्रमका विच समुदघाटन गरेका हुन । कार्यक्रममा विष्ट अतिथि शुक्लाफाटा ४ का वडाअध्यक्ष ज्ञान बहादुर बिष्ट रहनुभएको थियो भने अन्य अतिथिहरूमा जसपाकी नेत्री प्रेमबती राना ,भलमन्सा मिट्ठु राना ,वडा सदस्य र गाउँका अगुवाहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रम क्लबका अध्यक्ष धन बहादुर रानाको सभाअध्यक्षमा संचालन भएको थियो भने स्वागतमन्तव्य उपाध्यक्ष उर्मिला रानाले गरेकी हुन र कार्यक्रमको संचालन सचिब जगन्नाथ राना र सदस्य मोनिका रानाले गरेका थिए ।

 यसै गरी धनगढी उपमहानगर पालिका वडा नं. ७ देवहरिया गाउँका पुर्व वडाअध्यक्ष कालीराम रानाको घरमा पनि पिङ राखेका छन । साउन महिना लागेपछि रानाथारू समुदायले सावनकोडोला हाल्ने गर्दछन। यो रानाथारु समुदायको परम्परागत चलन हो।राना थारु बसोवास गर्ने गाउँमा साउनमा सार्वजनिक स्थानमा पिङ राख्ने गरिन्छ।

परम्परागत पहिरनमा सजिएका रानाथारु महिलाहरु आफ्नै स्थानीय भाषा र परम्परागत शैलीमा गीत गाउदै पिङमा मच्चिएर आनन्द लिने गर्दछन्। सामूहिक भेला हुने सार्वजनिक ठाउँमा दाजुभाइले दिदीबहिनीहरुका लागि पिङ राख्ने चलन पुरानै रहेको भलमन्सा मिट्ठु रानाले बताए। “यो चलन परम्परागतरूपमा चल्दै आएको छ”, उनले भने, “दिदीबहिनीहरुले पिङमा मच्चिँदै रमाइलो गर्दै माङ्गलिक गीतहरु गाउने गर्दछन्। पिङलाई रानाथारु भाषामा डोला भन्ने गरिन्छ।

चारवटा काठको खाँबोमा डोरीमा काठको फल्याक बाँधेर पिङका रूपमा प्रयोग गरिन्छ।” पिङ खेल्ने दिदीबहिनीको उत्साह थप्नका लागि ठूलो आवाजमा दाजुभाइले गीत गाउने चलन यस समुदायमा रहेको छ। यसबाट दिदीबहिनी र दाजुभाइबीच आत्मीयता बढ्ने भएकाले यसलाई बढी महत्व दिइने गरिएको धनगढी उपमहानगर पालिका ७ का भलमन्सा जगन्नाथ रानाले बताए। दिदीबहिनीले पानीसमेत नपिएर निराहार बर्त बसी दाजुभाइको दीर्घायुको कामना गर्ने गर्दछन्।

यसै अवसरमा उनीहरुले तीज मनाउने गर्दछन्। निराहार बसेका दिदीबहिनीले प्रसादका रूपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन्।  गडरौंदा जातको घाँसमा विवाहिताले सात गाँठा र अविवाहिताले पाँच गाँठा पारी चाँदीको गहनाले काटेर नदीको बीच भागमा पुगेर बत्तिसँगै विसर्जन गर्ने चलन रहेको छ।

विसर्जन गर्ने बेला दिदीबहिनीले दाजुभाइलाई धन सम्पत्ति, उन्नति र नदीको धार जस्तै दाजुभाइको आयु बढोस् भनी वरदान माग्ने गर्दछन्। जति टाढा घाँस बगेर जान्छ त्यति बढीनै दाजुभाइको आयु बढ्ने विश्वास यस समुदायमा रहेको छ। विसर्जन गर्न जाने बेला गाँउका युवाहरुले दिदीबहिनीहरुलाई बाटोमा लामो डोरीमा बेरेर घेर्ने प्रयत्न गरी हँस्यौली ठट्यौली र मनोरञ्जन लिने गर्दछन्।

यसलाई राना थारु भाषामा झुड्की छिराउने भन्ने गरिन्छ।माइतीलाई भेट्न नपाएका दिदीबहिनीहरु यसै अवसरको सदुपयोग गर्दै भेटघाट गर्न आउने भएकाले यसलाई वर्षभरिको सुखदुःख साटासाट गर्ने अवसरका रुपमा लिने गर्दछन्। यस अवसरमा घरघरमा बनाइएका परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला आफन्तलाई बाँड्दै घरका सबैले सँगै बसेर खाने चलन यस समुदायमा रहेको छ।

तीजका अवसरमा महिलाहरुले घंघरिया, अंगिया, फतुइ र घुँगट लगाउने गर्छन् भने आभूषणमा पैडा, कठुला, हरवालगायत घाँटीदेखि खुट्टासम्म लगाउने गर्दछन्।कैलाली र कञ्चनपुरमा मात्रै बसोबास भएका राना समुदायको यो महत्वपूर्ण पर्वका रूपमा रहेको छ। दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै यस पर्वलाई मनाउँछन्। साउनको शुक्ल तृतीयाका दिन यस पर्वको विधिवत्रूपमा समापन गरिन्छ।

दाजुभाइले तीज पर्व आउन १५ दिन अगावै दिदीबहिनीको घरमा गएर निम्ता दिई बोलाएर ल्याउनुपर्ने चलन रहेको छ। परम्परागत राना थारु समुदायका महिलाहरुले मनाउने यो पर्व साउन महिनाभरि मनाइने गरिन्छ। आधुनिक परिवेशसंँगै यस पर्वको मौलिकता खस्किँदै जान थालेको छ। युवा पुस्ताले यस पर्वलाई महत्व नदिँदा ओझेलमा समेत पर्न थालेको छ। केही राना थारु गाउँमा जागरुक युवाहरुले परम्परागत संस्कृति र चालचलन जोगाउनका लागि समाजमा जागरणका माध्यमबाट कार्यक्रम अगाडिसमेत बढाउँदै आएका छन्।

विज्ञापन