कैलाली। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की ले बहुउद्धेश्यीय विकास समाज डडेल्धुराले प्राकृतिक विपद्को संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहत कार्यमा महत्वपूर्ण भूमिका खेलकोे भन्दै प्रशंसा गर्नुभएको छ । “कैलालीमा बाढीमा अत्यन्तै समस्यामा परेका नागरिकहरुको उद्धारा तथा पिडितहरुलाई ठूलो मात्रामा राहत सामाग्री सहयोग गरेर उहाँहरुको जीवन सुरक्षाका लागि महत्वपूर्ण मानवीय सहयोग गर्नुभएको मैले जानकारी पाएँ बहुउद्धेश्यीय विकास समाज डडेल्धुरा र सेभ द चिल्ड्रेनलाई प्रदेश सरकारको तर्फबाट हार्दिक धन्यबाद एंव आभार प्रकट गर्दछु” कानुन मन्त्री सार्की ले बाढी प्रभावितको अवस्थाको बारेमा जानकारी लिदै भन्नुभयो ।
सेभ द चिल्ड्रेनको सहयोगमा कैलारी गाउँपालिकासंगको समन्वयमा बहुउद्देश्यीय बिकास समाज,डडेल्धुराले बाढी तथा डुबानको चपेटमा परि संकटग्रस्त अवस्थामा रहेका कैलारी गाउँपालिका वडा नं ३ र ५ का बाढी प्रभावित परिवारलाई गैर खाद्य राहत सामाग्री बितरण गरेको थियो । उक्त अवसरमा कैलारी गाउँपालिकाका बाढी प्रभावित परिवारलाई झण्डै २१ लाख ८४ हजार ३ सय अठ्ठाईस रुपैया बराबरको राहत वितरण गरेको थियो ।
बाढी वस्तीमा पसेपछि स्थानीय बासिन्दाको घरको भित्ताहरू भत्किएको, खेतीपाती साथै भण्डारण गरेको अन्न समेत नष्ट भएपछि सो क्षेत्रका बासिन्दा प्रभावित बनेका थिए। ती मध्ये पालिकाको तथ्याँक अनुसार बाढीका कारण पूर्ण विस्थापित भएका सिमान्तकृत समुदायका बिपन्न र समस्यामा परेका २१९ घर परिवारलाई सेल्टर किट,डिगनिटी किट,हाईजिन किट,लाईफबोई साबुन,कपडा धुने साबुन,कोलगेट,झुल,खानेपानी शुद्धीकरणका लागि फिल्टर,जर्किन,मग,बाल्टीन र पिफर्म लगायतका स्वास्थ्य सरसफाईका राहत सामाग्री वितरण गरिएको थियो ।
कैलालीमा बहुउद्धेश्य विकास समाज डडेल्धुरा ले बाढी लगायत प्राकृतिक विपद्को संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको आपतकालिन पूर्वतयारी तथा प्रतिकार्यका, मानविय सहायता,खानेपानी तथा स्वच्छता,स्वास्थ्य सरसफाई शिक्षा,मनोसामाजिक परामर्श, प्राथमिक उपचार,पूर्व सूचना प्रणाली लगायतका विषयमा महत्वपूर्ण कार्य गर्दे आईरहेको छ ।







