नरेश राना / कञ्चनपुर । बेलौरी नगरपालिकाको आर्थिक सहयोगमा मुक्त कमलरी विकास मञ्चको आयोजनामा मुक्त कमलरी महिलाहरुका लागि ३ दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धी सचेतना मूलक तालिम सम्पन्न भएको छ । ४ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको तालिममा ४५ जना सहभागी मुक्त कमलरीहरूका महिलाहरूको नेतृत्व विकासका लागि तालिम सञ्चालन गरिएको मुक्त कमलरी विकास मञ्च कञ्चनपुरकी अध्यक्ष सीता चौधरीले बताइन् ।

समापन कार्यक्रमका प्रमुख अतिथि रहेका वेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले मुक्त कमलरीहरूले बजेटको माग गरे अगावै नगरपालिकाले बजेट छुट्याएको बताउँदै पछाडि पारिएका सबै समुदायहरूलाई राज्यको मूल धारमा ल्याउनुपर्ने बताए ।

मुक्त कमलरीका परिवारहरूका सम्पूर्ण हक अधिकारका लागि भाषा, संस्कृति, रीतिरिवाज खाने परिकार रोजगार शिक्षा जस्ता महत्त्वपूर्ण विषयलाई राज्यले मूलधारमा ल्याउन पर्ने उनको भनाइ छ। आर्थिक अवस्था कमजोर भएकाहरूका लागि प्रदेश सरकार सङ्घको सरकारमा समेत शिक्षा स्वास्थ्य रोजगार नीति तथा बजेट कार्यक्रम ल्याउने आफूले माग गरेको समेत प्रष्ट पारे ।

बेलौरी नगरपालिकाका नगर प्रवक्ता हर्क बहादुर भुलले मुक्त कमलरीका महिलाहरूको लागि जुनसुकै समयमा पनि वडा तथा नगरपालिका तयार रहेको बताए । मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय सदस्य शान्ति चौधरीले लालझाडी गाउँपालिकामा बाख्रापालन तालिम सम्पन्न गरी लालझाडी गाउँपालिकाका मुक्तकमलरी ८ महिलाहरूलाई एक पाठी र एक पाठो वितरण वितरण गरिएको बताइन् ।

बेलौरी नगरपालिकाको नेतृत्व विकास कार्यक्रममा ४३ जना महिलाहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रशिक्षक धीरेन्द्र कुमार ढुङ्गाले तालिम दिएका थिए ।