धनगढी, जेठ ३ । कैलालीको गोदावरी नगरपालिकामा मतगणना स्थलमा स्वस्तिक छाप फेला परेपछि नेकपा एमालेले विरोध जनाएको छ। मत परिणामको तथ्यांक रुजु गर्ने कोठामा मतपत्रमा लगाउने स्वस्तिक छाप भेटिएपछि नेकपा एमालेले विरोध जनाएको हो।
सत्तारुढ गठबन्धनले चुनावमा धाँधली गर्ने उद्देश्यले स्वस्तिक छाप निर्वाचन अधिकृतको कार्यकक्षमा फेला परेको आरोप एमालेको छ। उक्त स्वस्तिक छाप फेला परेको कोठामा गठबन्धन निकट मानिने गोदावरी नगरपालिकाका एक जना कर्मचारी समेत भेटिएको भन्दै एमालेले छाप लगाएर मतपत्र साटासाट गर्ने काम गरिएको आशंका गरेको छ।
उता गोदावरी नगरपालिकाका निर्वाचन अधिकृत राजेन्द्र भण्डारीले मतगणना स्थलमा स्वस्तिक छाप भेटिएपछि विवाद भएको बताएका छन्। यद्यपि मतगणना भने नरोकिएको उनले जानकारी दिएका छन्।