संपादक नन्दलाल राना

धनगढी । वातावरण संरक्षण र स्वच्छ सहर निर्माणको उद्देश्यसहित परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवाहरूको अन्तर्राष्ट्रिय स्वयंसेवक संगठन ASEZ WAO ले धनगढीमा सडक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को समन्वय तथा सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रममा करिब ६० जनाको सहभागिता रहेको थियो। कार्यक्रमअन्तर्गत बोराडाँडी, उत्तरबेहेडी हुँदै शहीदगेट चोकसम्मको करिब तीन किलोमिटर सडकको दायाँबायाँ सरसफाइ गरिएको थियो।

बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन भएको सरसफाइ अभियानका क्रममा करिब ३० बोरा फोहोर संकलन गरी नगरपालिकाको फोहोर संकलन गर्ने गाडीमार्फत व्यवस्थापनका लागि पठाइएको आयोजकले जनाएको छ।

कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बुद्धि बहादुर खड्का प्रमुख अतिथि तथा वडा सदस्य माया कुमारी सावद भण्डारी अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा स्थानीय तह र स्वयंसेवकबीचको सहकार्यबाट सार्वजनिक स्थानको सरसफाइ तथा वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्य राखिएको थियो।

ASEZ WAO का अनुसार संस्थाले मानवजातिको हित र पृथ्वीको संरक्षणलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक तथा वातावरणीय अभियान सञ्चालन गर्दै आएको छ। संस्थाले अघि बढाउँदै आएका प्रमुख अभियानमा ‘Campaign for Human Being’ अर्थात् मानवजातिको हितका लागि अभियान र ‘Campaign for Earth’ अर्थात् पृथ्वीको संरक्षणका लागि अभियान रहेका छन्।

मानवजातिको हितका लागि गरिने अभियानअन्तर्गत रक्तदान, विपद्का समयमा स्वयंसेवा, ज्येष्ठ नागरिक तथा वृद्धाश्रममा सहयोग र शैक्षिक सहयोगजस्ता गतिविधि सञ्चालन गरिदै अाइरहेकाेछ। यस्ता गतिविधिले मानव जीवनप्रतिको सम्मान, आपसी सहयोग र सामाजिक सेवाको भावना अभिवृद्धि गर्ने लक्ष्य राख्छन्।

त्यसैगरी, पृथ्वीको संरक्षणका लागि सडक तथा नदी सरसफाइ, वृक्षारोपण, वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम र विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा वातावरणीय गतिविधि सञ्चालन गरिँदै आएको संस्थाले जनाएको छ।

यसै अभियानअन्तर्गत सञ्चालन हुँदै आएको ‘Zero Plastic 2040’ कार्यक्रमले प्लास्टिकको अनियन्त्रित प्रयोग र जथाभावी विसर्जनबाट उत्पन्न वातावरणीय समस्यालाई न्यूनीकरण गर्ने लक्ष्य राखेको छ। प्लास्टिकजन्य फोहोरले सडक, नाला, नदी, माटो तथा प्राकृतिक वातावरणमा प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्य र जैविक विविधतामा समेत असर पार्न सक्ने भएकाले यसको प्रयोग घटाउन र उचित व्यवस्थापन गर्न आवश्यक रहेको अभियानले जोड दिएको छ।

ASEZ WAO नाममा रहेको ‘ASEZ’ को अर्थ ‘Save the Earth from A to Z’ अर्थात् पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔँ भन्ने हो। त्यस्तै, ‘WAO’ को अर्थ ‘We Are One Family’ अर्थात् हामी एउटै परिवार हौँ भन्ने रहेको छ। यसले सबै मानिस एउटै परिवारका सदस्यका रूपमा एकजुट भई पृथ्वीको संरक्षण गर्नुपर्ने सन्देश दिन्छ।

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, धनगढीका प्रमुख रामकुमार वि.क. तथा ASEZ WAO का सदस्य रामकृष्ण रानासँग सम्बन्धित संस्थागत सहभागिताका बीच सञ्चालन गरिएको यस कार्यक्रमले सार्वजनिक सरसफाइप्रति नागरिकको जिम्मेवारी र वातावरण संरक्षणमा सामूहिक सहभागिताको महत्त्वलाई उजागर गरेको छ।

सफा सडक, स्वच्छ वातावरण र स्वस्थ समाज निर्माणका लागि स्थानीय तह, सामाजिक संघसंस्था तथा नागरिकबीच सहकार्य आवश्यक हुन्छ। धनगढीमा सञ्चालन गरिएको यस सरसफाइ अभियानले सार्वजनिक स्थानलाई सफा राख्ने, प्लास्टिकजन्य फोहोरको उचित व्यवस्थापन गर्ने र वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने सन्देश दिएको छ।

सेयर कर दियो ।