धनगढी, साउन ७
साउन शुक्ल पक्ष अर्थात् साउने शुक्लपक्ष तृतीयाको दिन राना थारू समुदायमा तीज (सामन) पर्व विशेष रूपमा मनाइन्छ। साउन (सावन कृषणपक्ष) महिनाको सुरुवातसँगै गाउँ–गाउँमा (पिङ्ग) डोला हाल्ने परम्परा सुरु हुन्छ। परम्परागत पोशाकमा सजिएका राना थारू महिलाहरू (पिङ्ग) डोलामा बसेर सामनका गीत गाउँछन्। खेतीपातीको काम सकिएपछि विवाहित छोरीहरू माइती घर फर्किने भएकाले राना थारू बस्तीहरूमा विशेष रौनक देखिन्छ।
यो पर्व करिब एक महिन तिन दिनसम्म डोला (पिङ्ग) हालेर मनाइन्छ । डोला (पिङ्ग) बनाउन सबैले मिलेर काम गर्छन्। दाजुभाइ–दिदीबहिनी मिलेर जंगलबाट काठ काटेर ल्याउँछन् र ठूलो डोला तयार पारिन्छ। सावन महिनामा गाउने तिजका भिविन्न गितले दिनमा खेतिबारी बाट थकित मनलार्इ साँझको गितको त्यो भावले मनमोहक बनाइ दिन्छ । यस महिनामा गाउने विभन्न भाकका गित हरू पनि गाउने गरिन्छ । खास गरी विरहका गित (बैरासो) जस्ता भाकामा गाउने गरिन्छ । केटा र केटीलाइ जिस्काउने गितहरू पनि गाउने गरिन्छ । यस पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आत्मीय सम्बन्ध अझ बलियो बनाउने विश्वास राना थारू समुदायमा रहेको छ।
तीजको व्रत महिलाहरूले संकटबाट मुक्ति, दाजुभाइ तथा भतिजाहरूको दीर्घायु, सुख, समृद्धि र जीवनरक्षाको कामना गर्दै बस्छन्। साउने शुक्ल तृतीयाको दिनलाई मुख्य दिन मानिन्छ। त्यस दिन महिलाहरू निराहार व्रत बस्ने चलन छ। व्रतपछि सिमही, गुलगुला, पुरी लगायतका परम्परागत परिकार खाएर व्रत समापन गरिन्छ।
साँझपख व्रतालु महिलाहरू नदी किनारमा पुग्छन्। उनीहरूले गडरौराको घाँस वा कुशमा विवाहित महिलाले सात र अविवाहितले पाँच गाँठो बाँधेर पूजा गर्छन्। पूजा सम्पन्न भएपछि चाँदीको गहना वा सिक्काले घाँस काटेर नदीमा अग्रासन दिने चलन छ । अग्रासन दिने क्रममा महिलाहरूले आफ्ना दाजुभाइ र भतिजाहरूको धन–सम्पत्ति, उन्नति र दीर्घायुको कामना गर्दै “जसरी नदीको बहाव बढ्छ, त्यसरी नै मेरा दाजुभाइ र भतिजाहरूको आयु बढोस्” भन्ने शुभकामना व्यक्त गर्छन्। अग्रासन दिइसके पछि अफुले लगेको प्रसादको रूपमा खाएर ब्रत खोल्ने गर्छन र घर फर्कने क्रममा बाटोमा भाइ भतिजाहरूले बाटो छेकेर बसेका हुन्छन । उनिहरूले कुस वा वाइबोले बनाएको पटाकी (एक प्रकारको डोरी जस्तो) पडकाउदै बाटोछेकेर बसेका हुन्छन । उनिहरूले दिदिवहिनीलाइ पटाकिले बेरेर मजाक गर्दै प्रसाद माग्ने चलन रहेको छ यसरी दिदी,भाइ र बहिनी विचको अत्मिता रमाइलो गरी मनाउने परम्परा पनि रहेको छ।
राना थारू तीज (सामन) पर्वको संरक्षण तथा संवर्द्धन र चुनौतीहरू
राना थारू समुदायको तीज (सामन) पर्व केवल धार्मिक आस्थासँग मात्र सम्बन्धित नभई समुदायको मौलिक संस्कृति, परम्परागत ज्ञान, सामाजिक एकता, लोकगीत, लोकनृत्य र पारिवारिक सम्बन्धको संरक्षण गर्ने महत्त्वपूर्ण सांस्कृतिक सम्पदा हो। यस पर्वलाई दीर्घकालसम्म जीवन्त राख्न संरक्षण र संवर्द्धनका साथै देखा परिरहेका चुनौतीहरूको समयमै समाधान गर्नु आवश्यक छ।
संरक्षण तथा संवर्द्धनका उपायहरू
- सामन पर्वसँग सम्बन्धित मौलिक गीत, भाका, नृत्य, परम्परा र संस्कारहरूको अभिलेखीकरण, अनुसन्धान तथा प्रकाशन गर्ने।
- ज्येष्ठ पुस्ताबाट नयाँ पुस्तामा सामनका गीत, डोला (पिङ्ग) निर्माण गर्ने सीप, व्रत–पूजा विधि तथा सांस्कृतिक मूल्यहरूको हस्तान्तरण गर्ने।
- विद्यालय, क्याम्पस तथा समुदायस्तरमा राना थारू संस्कृति सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने।
- स्थानीय तह, सांस्कृतिक संस्थाहरू तथा राना थारू समुदायको सहकार्यमा सामन पर्वलाई व्यवस्थित रूपमा मनाउने र यसको प्रचार–प्रसार गर्ने।
- सामन पर्वका अवसरमा सांस्कृतिक महोत्सव, लोकगीत तथा लोकनृत्य प्रतियोगिता, परम्परागत पोशाक प्रदर्शनी तथा सांस्कृतिक गोष्ठी आयोजना गर्ने।
- रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट सामन पर्वको मौलिक स्वरूपलाई प्रचार–प्रसार गर्ने।
- राना थारू समुदायको अमूर्त सांस्कृतिक सम्पदाका रूपमा सामन पर्वको संरक्षणका लागि सरकारी तथा गैरसरकारी निकायको सहयोग र आवश्यक बजेट व्यवस्थापन गर्ने।
- सामन पर्वलाई सांस्कृतिक पर्यटनसँग जोडेर स्थानीय कला, संस्कृति तथा परम्परागत खानाको प्रवर्द्धन गर्ने।
प्रमुख चुनौतीहरू
- आधुनिक जीवनशैली र पश्चिमी संस्कृतिको बढ्दो प्रभावका कारण युवा पुस्तामा परम्परागत संस्कृतिप्रतिको आकर्षण घट्दै जानु।
- रोजगारी, अध्ययन तथा बसाइँसराइका कारण गाउँमा सामूहिक रूपमा पर्व मनाउने परम्परा कमजोर बन्दै जानु।
- सामनका मौलिक गीत, भाका तथा संस्कारहरू लोप हुने जोखिम बढ्नु।
- परम्परागत डोला (पिङ्ग) निर्माणका लागि आवश्यक काठ तथा अन्य प्राकृतिक स्रोतको अभाव हुनु।
- संस्कृति संरक्षणका लागि पर्याप्त सरकारी नीति, बजेट तथा संस्थागत सहयोगको कमी हुनु।
- डिजिटल अभिलेख, अनुसन्धान तथा लिखित दस्तावेजको अभावका कारण मौखिक परम्परा हराउने जोखिम हुनु।
- व्यावसायीकरण र आधुनिक मनोरञ्जनका कारण पर्वको मौलिकता कमजोर हुने सम्भावना रहनु।
राना थारू तीज (सामन) पर्वको मौलिक स्वरूपलाई जोगाउन समुदाय, स्थानीय सरकार, शैक्षिक संस्था, सांस्कृतिक सङ्घ–संस्था तथा युवा पुस्ताबीचको सहकार्य अत्यन्त आवश्यक छ। परम्परागत ज्ञान, संस्कार, गीत–सङ्गीत र सांस्कृतिक अभ्यासलाई पुस्तान्तरण गर्दै यसको व्यवस्थित अभिलेखीकरण, संरक्षण र प्रवर्द्धन गर्न सकिएमा यो अमूल्य सांस्कृतिक सम्पदा भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्न सकिनेछ।







