कञ्चनपुर लालझाडी गाउँपालिकामा कृत्रिम बुद्धिमत्ता (AI) प्रविधि प्रयोग गरी गरिएको निःशुल्क क्षययरोग (टीबी) परीक्षण शिबिर सफलतापूर्वक सम्पन्न भएको छ।

२०८३ साल वैशाख १२ गतेदेखि १५ गतेसम्म सञ्चालन गरिएको उक्त शिबिर जिल्लाका चार स्वास्थ्य संस्थाहरू—लालझाडी आधारभूत अस्पताल नन्दगाउँ, आधारभूत स्वास्थ्य सेवा केन्द्र सिकलपट्टी, बाइसेबिचवा स्वास्थ्य चौकी र देखभुली स्वास्थ्य चौकी—मा आयोजना गरिएको थियो।

शिबिरमा आधुनिक AI-सहायता प्राप्त एक्स-रे प्रविधि मार्फत क्षयरोगको प्रारम्भिक पहिचान तथा परीक्षण सेवा प्रदान गरिएको थियो। कुल ७४८ जना सेवाग्राहीहरूले एक्स-रे सहितको स्वास्थ्य सेवा लिएका थिए। परीक्षणका क्रममा ३ जना बिरामीमा पीसीडी (Pulmonary Clinical Diagnosis) क्षयरोग पुष्टि भएको जानकारी प्राप्त भएको छ।

त्यसैगरी, शिबिर अवधिभर ११५ जना सेवाग्राहीहरूलाई क्षयरोगको संकास्पद बिरामीका रूपमा पहिचान गरिएको थियो। तीमध्ये २३ जनालाई थप पुष्टि परीक्षणका लागि जिन एक्सपर्ट (GeneXpert) परीक्षण गर्न सम्बन्धित अस्पतालमा प्रेषण गरिएको छ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार AI प्रविधिको प्रयोगले छिटो र प्रभावकारी रूपमा क्षयरोगको पहिचान गर्न मद्दत पुगेको छ, जसले समयमै उपचार सुरु गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ।
यस महत्त्वपूर्ण स्वास्थ्य कार्यक्रममा सहयोग तथा सहजिकरण गर्ने सम्पूर्ण स्वास्थ्य संस्था परिवार, स्वास्थ्य कार्यालय कञ्चनपुर तथा स्वास्थ्य निर्देशनालय दिपायल, डोटीप्रति आयोजकले हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। कार्यक्रमले स्थानीय तहमा क्षयरोग नियन्त्रण तथा जनचेतना अभिवृद्धिमा सकारात्मक योगदान पुर्याएको जनाइएको छ।







