खटिमा, भारत । डिल्लू सिंह राणा जी को जन्म 21 मार्च 1975 मा उत्तराखण्ड राज्य काे ऊधम सिंह नगर जिला खटीमा तहसील अन्तर्गत गाउँ कंजाबागमा एक साधारण, धार्मिक एवं किसान परिवारमा भएको थियो। उहाँका बुबा श्री बादाम सिंह राणा हुलाक विभागमा पोस्टमास्टरको रूपमा सरकारी सेवामा कार्यरत हुनुहुन्थ्यो भने आमा श्रीमती पार्वती देवी अत्यन्त धर्मपरायण तथा माता रानीकी भक्त हुनुहुन्थ्यो। यिनै पारिवारिक संस्कार र धार्मिक वातावरणका कारण डिल्लू सिंह राणा जी बाल्यकालदेखि नै समाजसेवा, आस्था र मानवताप्रति समर्पित व्यक्तित्वका रूपमा विकसित हुनुभयो।

उहाँको परिवारमा चार दिदीबहिनी—किरण देवी, सन्तोषी देवी, शिक्षा राणा र पूनम राणा तथा भाइहरूमा डिल्लू सिंह राणा र सत्यवीर सिंह राणा हुनुहुन्छ। सबै दाजुभाइ तथा दिदीबहिनीको विवाह भइसकेको छ।

वैवाहिक जीवन
डिल्लू सिंह राणा जीको वैवाहिक जीवन अत्यन्त आदर्शपूर्ण रह्यो। उहाँकी धर्मपत्नी श्रीमती मीना देवी हुनुहुन्छ। उहाँका दुई छोरीहरू—वैशाली र वैष्णवी छन्। जेठी छोरी वैशालीको विवाह 23 जनवरी 2026 मा सम्पन्न भयो। एक जिम्मेवार पिता र परिवार प्रमुखका रूपमा उहाँले आफ्नो परिवारलाई सुदृढ आधार प्रदान गर्नुभयो।

शिक्षा
उहाँले प्रारम्भिक शिक्षा नानकमत्ता (सितारगंज, ऊधम सिंह नगर) बाट पूरा गर्नुभयो। त्यसपछि थारु राजकीय इन्टर कलेज, खटीमा बाट 1993 मा हाईस्कूल उत्तीर्ण गर्नुभयो। पछि पिताजीको सरुवा पूरनपुर भएपछि उहाँले पूरनपुर इन्टर कलेजबाट 1995 मा इन्टरमीडिएट उत्तीर्ण गर्नुभयो। उच्च शिक्षा भने उत्तर प्रदेशको पीलीभीतस्थित महाविद्यालयबाट हासिल गर्नुभयो।

कृषि तथा व्यवसायिक योगदान
पिताजी सरकारी सेवामा रहनु भएकाले घरको कृषि कार्यको जिम्मेवारी उहाँले स्वयं सम्हाल्नुभयो। खटीमा क्षेत्र कृषि प्रधान क्षेत्र भएकाले उहाँले स्थानीय किसानहरूलाई उन्नत बीउ, मल, औषधि तथा अन्य कृषि सामग्री उपलब्ध गराएर प्रगतिशील किसान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। सन् 2017 मा आफ्नी छोरीको नामबाट “वैष्णवी खाद भण्डार” स्थापना गरी कृषि क्षेत्रमा सेवा विस्तार गर्नुभयो।

साथै, समाजमा बढ्दो महँगीलाई ध्यानमा राख्दै थारु राणा समाजमा विवाह जस्ता कार्यक्रमहरू सहुलियत दरमा सम्पन्न होऊन् भन्ने उद्देश्यले आफ्नी आमाको नाममा “पार्वती मण्डप” निर्माण गर्नुभयो, जसबाट गरिब तथा असहाय परिवारलाई ठूलो सहयोग पुगेको थियो।

सामाजिक तथा संगठनात्मक योगदान
डिल्लू सिंह राणा जी सधैं सरलता, समर्पण र धर्मपरायण भावनाका साथ समाजसेवामा लागिरहनुभयो। उहाँको मुख्य उद्देश्य थारु संस्कृति, परम्परा र संस्कारहरूको संरक्षण गर्नु तथा समाजमा रहेका कुरीतिहरू हटाउनु थियो।

उहाँ अखिल भारतीय वनवासी कल्याण आश्रमसँग सम्बद्ध हुनुभयो र बारह राणा स्मारक समितिका सक्रिय सदस्यका रूपमा चयन हुनुभयो। साथै, सेवा प्रकल्प संस्थान उत्तराखण्डमा श्रद्धा जागरणका प्रान्त प्रमुखका रूपमा पनि नियुक्त हुनुभयो। उहाँले धर्म जागरण टोली गठन गरी धर्म परिवर्तन भएका करिब 270 परिवारलाई पुनः आफ्नो मूल धर्ममा फर्काउन महत्वपूर्ण योगदान दिनुभयो।

उहाँ राणा थारू परिषदका आजीवन सदस्य तथा राणा थारू युवा मञ्चका सर्वसम्मत अध्यक्ष पनि हुनुहुन्थ्यो। साथै, अन्तर्राष्ट्रिय मित्र समूह भारत–नेपाल–उत्तर प्रदेशका संयोजकका रूपमा समेत कार्यरत रहनुभयो।

दुःखद निधन
5 फेब्रुअरी 2026 का दिन उहाँमाथि षड्यन्त्रपूर्वक आक्रमण गरियो। पेय पदार्थमा विष मिसाएर उहाँको निर्मम हत्या गरियो, जुन अत्यन्त दुःखद र समाजका लागि अपूरणीय क्षति हो।

भावपूर्ण प्रेरणा
डिल्लू सिंह राणा जीको जीवन एक साधारण किसान परिवारबाट उठेर समाजसेवा, धर्म, संस्कृति र मानवताको मार्गमा समर्पित एक असाधारण व्यक्तित्वको कथा हो। उहाँले आफ्नो मधुर व्यवहार, सहनशीलता र समझदारीद्वारा समाजका विवादहरू समाधान गर्दै अदालतसम्म पुग्न नदिने उदाहरण प्रस्तुत गर्नुभयो।

यद्यपि उहाँ आज हाम्रो बीचमा शारीरिक रूपमा उपस्थित हुनुहुन्न, उहाँका आदर्श, संस्कार र सामाजिक योगदान सधैं हामी सबैका लागि प्रेरणाको स्रोत रहनेछन्।

– रामकिशोर राणा
उपाध्यक्ष, बारह राणा स्मारक समिति