धनगढी: अनमीलाई कुटपिट गर्ने बैतडीकाे पुर्चौडी-७ स्थित कोटिला स्वास्थ्यचौकी इन्चार्ज सुमन लुहारमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । लुहारले आफ्नै कार्यालयमा कार्यरत अनमी माया भट्टलाई आइतबार धनगढी-१ स्थित अदालत रोडमा कुटपिट गरेका थिए ।

कुटपिटबाट माया भट्टको टाउको र हातमा चोट लागेको छ। लुहारले इट्टाले आफूलाई प्रहार गरेको भट्टले बताइन् ।

कुटपिट लगत्तै पक्राउ परेका लुहार अहिले कैलाली प्रहरीको हिरासतमा छन् । लुहार विरुद्ध पीडित भट्टले ज्यान मार्ने उद्योगमा मुर्दा गरेको कैलाली प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले दिनेशखबरलाई बताए ।
‘लुहार विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भएको छ । अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ,’ डिएसपी तिमिल्सिनाले बताए ।

एउटै स्वास्थ्यचौकीमा काम गर्ने सहकर्मीसँग फोनमा कुराकानी गरेको भन्दै लुहारले भट्टसँग धनगढी आएर विवाद गरेको पीडित भट्टको दाबी छ । भट्टले फोन गरेको कल डिटेल हेर्ने भन्दै लुहारले नागरिकता मागेका थिए । भट्टले नागरिकता नदिएपछि उनीमाथि इट्टा प्रहार गर्दै कुटपिट गरिएको भट्ट स्वयंले मिडियामा बोलेकी छन् ।