नरेश राना / लालझाडी

कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा इसाई धर्मावलम्बीहरूले इस्टर सण्डे भव्य रूपमा मनाएका छन्। कञ्चनपुर इसाई समाज, शाखा लालझाडीको आयोजनामा गाउँपालिकाका वडा नम्बर १ देखि ६ सम्म मोटरसाइकल र्याली निकाल्दै पर्वलाई उल्लासका साथ मनाइएको हो।

र्याली लालझाडी गाउँपालिका वडा नम्बर १ स्थित छेदु चोकबाट सुरु भई गाउँपालिकाका विभिन्न क्षेत्रको परिक्रमा गर्दै वडा नम्बर ४ को सिकलपट्टी हुँदै बेल चौराहामा पुगेर समापन गरिएको थियो। समापन स्थलमा आयोजित कोणसभामार्फत कार्यक्रम औपचारिक रूपमा सम्पन्न गरिएको थियो।

र्यालीमा प्रत्येक वडाबाट पास्टर, सेवक तथा इसाई समुदायका सयौं सहभागीहरूले धार्मिक नारा लगाउँदै इस्टर सण्डेको सन्देश फैलाएका थिए। सहभागीहरूको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई थप भव्य बनाएको आयोजकले जनाएको छ।

इसाई धर्मअनुसार गुड फ्राइडेका दिन येशू ख्रीष्टलाई क्रूसमा चढाई जमिनमा गाडिएको थियो भने तेस्रो दिन आइतबार उहाँ पुनरुत्थान हुनुभएको विश्वास गरिन्छ। यही पुनरुत्थानको सम्झनामा प्रत्येक वर्ष इस्टर सण्डे मनाइन्छ।

लालझाडी इसाई समाज शाखाका अध्यक्ष भीम बहादुर चौधरीले इसाई धर्मावलम्बीहरूको यो दोस्रो महान पर्व भएको उल्लेख गर्दै गुड फ्राइडे र इस्टर सण्डे दुवै दिन विशेष श्रद्धा र उत्साहका साथ मनाइने जानकारी दिनुभयो। उहाँले यस वर्ष पनि सम्पूर्ण समुदायको सक्रिय सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो।

स्थानीय स्तरमा आयोजना गरिएका यस्ता धार्मिक कार्यक्रमहरूले सामाजिक सद्भाव, एकता र आपसी सहकार्यलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।