कञ्चनपुर, चैत ६ — कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुबेलास्थित ग्वासी समैजीधाममा आजदेखि १० दिने ‘शिव महापुराण तथा महारुद्र विराट महायज्ञ’ भव्य रूपमा सुरु हुँदै छ । चैत ६ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञ धार्मिक, सांस्कृतिक तथा सामाजिक विकासका विविध उद्देश्यका साथ आयोजना गरिएको हो।
महायज्ञको उद्घाटन भव्य कलश यात्रा ९शोभायात्रा० सहित गरि तयारी गरिएको आयोजकले बताएको छ। गोदावरीबाट जल लिएर नगर परिक्रमा गर्दै यज्ञस्थलमा पुगेर शोभायात्रापछि उद्घाटन सत्र सम्पन्न गरिने तयारी रहेको छ । उद्घाटन कार्यक्रममा गणेश वन्दना, गुरु वन्दना तथा व्यासाचार्यद्वारा शिवपुराण वाचनको शुभारम्भ गरिनेआयोजकले जनाएको छ।

विहीबार आयोजित पत्रकार सम्मेलनमार्फत महायज्ञबारे जानकारी दिँदै मूल व्यवस्थापन समितिका संयोजक तथा कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले यस महायज्ञलाई क्षेत्रकै ऐतिहासिक अभियानको रूपमा आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले ग्वासी समैजीधामलाई धार्मिक आस्थाको केन्द्र मात्र नभई स्थानीय पहिचान, संस्कृति र सामाजिक एकताको प्रतीकका रूपमा अघि बढाउन महायज्ञको आयोजना गर्न लागिएको बताउनु भयो ।
“यो महायज्ञले धर्मप्रति आस्था अभिवृद्धि गर्नुका साथै शिक्षा, पर्यटन र स्थानीय विकासलाई नयाँ दिशा दिनेछ,” उहाँले भन्नुभयो, “हामीले यस अभियानलाई समग्र क्षेत्रको समृद्धिसँग जोडेर अघि बढाएका छौं।”
महायज्ञ मूल समितिका सह–संयोजक तथा वडा अध्यक्ष धर्मबहादुर सिंह, संरक्षक विश्वेश्वर भट्ट र आर्थिक समिति संयोजक खेमराज पाण्डेयलगायतको उपस्थितिमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो। आर्थिक संयोजक पाण्डेयका अनुसार महायज्ञको आयोजनामा कृष्णपुर नगरपालिका, गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाले सहकार्य तथा सहयोग गरिरहेका छन्।
धार्मिक मान्यताअनुसार ग्वासी समैजीलाई समय, विधि र मर्यादाको संरक्षण गर्ने दिव्य शक्तिका रूपमा पूजाआजा गरिँदै आएको छ। ‘धर्मो रक्षति रक्षितः’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै आयोजना गरिएको महायज्ञ ‘सर्वजन हिताय, सर्वजन सुखाय’ को भावनामा आधारित रहेको आयोजकले जनाएको छ।
चैत ७ गतेदेखि १५ गतेसम्म दैनिक रूपमा पूजापाठ, मूलपाठ पारायण तथा दिउँसोदेखि साँझसम्म व्यासाचार्य श्री जयप्रसाद जोशीद्वारा संगीतमय कथा प्रवचन सञ्चालन गरिनेछ। साथै राष्ट्रिय कलाकारहरूद्वारा भजन–कीर्तन, झाँकी तथा लीलाप्रदर्शनसमेत प्रस्तुत गरिने कार्यक्रम रहेको छ।
महायज्ञको अन्तिम दिन चैत १५ गते विशेष लक्ष्यदीप प्रज्वलन गरिनेछ भने चैत १६ गते होमयज्ञ, पूर्णाहुति, भोजन भण्डारा तथा समापन समारोहसँगै कार्यक्रम औपचारिक रूपमा सम्पन्न गरिनेछ।
महायज्ञबाट ग्वासी समैजीधामको धार्मिक तथा पर्यटकीय विकास, गुरुकुल पाठशाला स्थापना, अक्षयकोष निर्माण, ५४ फिट ‘हिमालय पर्वत’ सहित शिव–पार्वती–गणेशको भव्य मूर्ति निर्माण तथा वैदिक सनातन धर्मको संरक्षण गर्ने लगायतका उद्देश्य रहेका छन्। साथै युवा पुस्तामा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने लक्ष्य पनि लिइएको छ।
आर्थीक संयोजक खेमराज पाण्डेयले यस्ता धार्मिक आयोजनाहरू समाजलाई एकताबद्ध बनाउने, सकारात्मक सोचको विकास गर्ने र नैतिक मूल्य–मान्यतालाई बलियो बनाउने माध्यम भएको उल्लेख गर्नुभयो। उहाँले धर्म, संस्कृति र विकासबीच सन्तुलन कायम गर्न यस्ता महायज्ञहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।
पत्रकार सम्मेलनमा विभिन्न वडाका जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी वक्ताहरूले महायज्ञ सफल बनाउन सामूहिक सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
आयोजक समितिले सम्पूर्ण श्रद्धालु भक्तजनलाई दान, सेवा तथा विभिन्न माध्यमबाट सहभागी भई पुण्य लाभ आर्जन गर्न आग्रह गरेको छ। दाताहरूलाई सम्मानपत्र, रुद्राक्षमाला तथा शिलालेखमार्फत सम्मान गरिने व्यवस्था गरिएको पनि जनाइएको छ। धर्म, संस्कृति, एकता र विकासको संगमका रूपमा आयोजना गरिएको यस विराट महायज्ञले समाजमा शान्ति, सद्भाव र समृद्धिको सन्देश फैलाउने विश्वास लिइएको आयोजकको भनाइ छ।







