कञ्चनपुर। कैलालीको कैलारी गाउँपालिका-१ रानामुढाकी निराशा डगौँरा चौधरी २०५३ सालमा कक्षा ७ मा पढ्थिन्। जतिबेला देशमा माओवादी सशस्त्र युद्ध चर्किंदै थियो। माओवादी लडाकु उनको घरमा आउजाउ गरिरहन्थे।

कहिले बास बस्न त कहिले खाना खान। १४ वर्षकै उमेरमा निराशा पनि माओवादी कार्यकर्ताका रूपमा सक्रिय हुन थालिन्। सुरुमा उनी माओवादीका लागि चिठीपत्र यताउता पु-याउने काम गर्थिन्। हुलाकी कार्यकर्ताका रूपमा माओवादीसँग नजिकिएकी उनी पछि जनयुद्धमै होमिइन्।

घरमा बास बस्न आउने माओवादी नेता–कार्यकर्ताकै प्रेरणाले आफू माओवादी विद्रोहमा जोडिएको निराशा सुनाउँछिन्। वि.सं. २०४३ मा निम्न वर्गीय परिवारमा जन्मिएकी उनका बुवा बलिराम र आमा मधनी मजदुरी, अधियाँलगायत गरेर जीविकोपार्जन गर्थे।

निराशाका दुई दाइ, दिदी र एक भाइ छन्। जनयुद्धसँगै उनले आफ्नो विद्यालय शिक्षालाई पनि अघि बढाइन्। यसै क्रममा उनले हसुलियाको दीपेन्द्र उच्च माध्यमिक विद्यालयबाट ०५८ सालमा एसएलसी दिइन्। तर सफल हुन सकिनन्।

जनयुद्धले गर्दा घरमा बस्ने अवस्था थिएन। प्रहरी प्रशासनले पक्रिने डरले लुकीलुकी विद्यालय जाने गरेको निराशा सम्झिन्छिन्। वि.सं. २०५८ भदौ १२ गतेदेखि ‘मरे, बाँचे जे भए पनि होस्’ भनेर उनी भूमिगत भएर सशस्त्र आन्दोलनमा सहभागी भइन्।

माओवादीका विद्यार्थी कमिटी सदस्य तथा एरिया कमिटीका विभिन्न जिम्मेवारीमा रहेर उनले काम गरिन्। अखिल क्रान्तिकारी महिला संघको कैलाली जिल्ला सचिव हुँदै अध्यक्षसम्म भएकी उनी ०५९ फागुन ११ मा उनलाई सेनाले समात्यो।

बुदिया गाउँबाट उनलाई नेपाली सेनाले हसुलिया हुँदै तेघरी ब्यारेक ल्यायो। ६ महिना तेघरी ब्यारेकमा राखेपछि उनलाई पछि केन्द्रीय कारागार काठमाडौँ लगिएको थियो। बन्दी जीवनमा चरम मानसिक र शारीरिक यातना सहेको निराशा बताउँछिन्।

‘नांगै पारेर सिस्नुपानी लगाउँथे। यसरी यातना दिनुभन्दा त गोली ठोकेर एकैपटक मारिदिनुस् भन्थेँ,’ निराशा सुनाउँछिन्, ‘मलाई भेट्न पनि कोही आउँदैन थिए। नामै निराशा, यो बेसहारा हो। यसलाई मार्नु हुँदैन भन्थे, कोही भने मार्नुपर्छ भन्थे।’

निराशा विचलित भइनन्। उनको बलियो साहस देखेर सेना अचम्ममा पर्थे। उनलाई कोही माओवादीको ठुलै नेता सोच्थे। त्यसैले आफूलाई केन्द्रीय कारागारमै थुनिएको निराशाको बुझाइ छ। तेघरी ब्यारेकमा हुँदा उनलाई सेनाले गोदावरी खोलामा खाल्डो खनेर अन्तिम दिन हो भनेर गाड्न खोजेका थिए।

संकटकालमा परिवारले निराशा घर नआएकाले आश मार्दै गएको थियो। केन्द्रीय कारागारमा हुँदा चिठी लेखेपछि मात्रै परिवारले आफू कहाँ छ भन्ने जानकारी पाएको उनी बताउँछिन्।

‘तेघरी ब्यारेकमा हुँदा एक पटक परिवार भेट्न आएका थिए। काठमाडौँ आएपछि मैले चिठी पठाएँ। भाइले जवाफ दिँदै बाँच्नु भएकै रहेछ भनेर थाहा पाएको भनेका थिए,’ उनी भन्छिन्।

शान्ति सम्झौतापछि २०६२ मंसिर ८ गते उनी जेलबाट रिहा भएकी थिइन्। ०६४ मा उनी अखिल क्रान्तिकारी महिला संघ कैलालीको अध्यक्ष बनेकी थिइन्। ०६६ मा उनले जनमुक्ति सेनाका कम्पनी कमान्डर कर्णबहादुर चौधरीसँग बिहे गरिन्।

जनयुद्धकै क्रममा निराशा र कर्णको भेट भएको थियो। शान्ति सम्झौता भएपछि उनीहरूले विवाह गरे। कर्ण र निराशाका अहिले १४ वर्षीय एक छोरी छन्। निराशा अहिले पार्टीको जिल्ला सदस्य मात्रै छिन्।

उनलाई नेपाल कम्युनिस्ट पार्टीले यसपटक थारु क्लस्टरबाट समानुपातिक सांसद बनाएको हो। सशस्त्र माओवादी युद्धका बेला लडाकु रहेकी निराशा पहिलोपटक संसद् यात्रा गर्दै छिन्।

‘महिला सशक्तीकरणको पक्ष र वर्गीय उत्पीडनविरुद्ध विचलित नभएर पार्टीमा लागेर योगदान गरियो। अहिले योगदान र बलिदानको मूल्यांकन गरेर समानुपातिक सांसद हुँदा खुसीसँगै चुनौती महसुस भइरहेको छ’, उनले भनिन्, ‘आफूले भ्याएसम्म उत्पीडित वर्गको आवाज सदनमा सशक्त ढंगले उठाउँछु।’