काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको औपचारिक प्रक्रिया चैत ५ गतेपछि मात्र सुरु गर्ने भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झन्डै दुई तिहाइ बहुममत प्राप्त गरेपछि एकल सरकार गठनको आन्तरिक गृहकार्यमा पार्टीका शीर्ष नेताहरू लागिरहेका छन् ।

यद्यपि समानुपातिक सांसदहरूले प्रमाणपत्र लिन बाँकी नै रहेकाले औपचारिक रूपमा सरकार गठनको गृहकार्यमा लाग्न नमिलेको रास्वपाका नेताहरूको भनाइ छ ।

‘निर्वाचन आयोगले भर्खर समानुपातिक सांसद टुङ्गो लगाएको छ । निर्वाचन आयोगले चुनाव सम्बन्धी सबै विषय टुङ्ग्याएपछि सरकार गठनको प्रक्रिया अगाडि बढाउँछौँ,’ रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले भने, ‘संसद् बैठक बस्नुअघि हामीले निर्वाचित सांसदहरूलाई सदमा प्रभावकारी भूमिका निर्वाह गर्नेबारे दुई दिने अभिमूखीकरण कार्यक्रम राखेका छौँ । त्यसपछि बल्ल सरकार गठन प्रक्रिया अगाडि बढ्छ ।’

अर्का नेता तथा रास्वपा सहमहामन्त्री विपिन कुमार आचार्यले सरकार गठनका सम्बन्धमा आन्तरिक छलफल भइरहेको बताए । ‘सरकार गठनबारे हामी आन्तरिक छलफलमै छौँ,’ आचार्यले भने ।

निर्वाचन आयोगले चुनावको अन्तिम रिपोर्ट बुझाएपछि केन्द्रीय समिति बैठक बसेर संसदीय दलको नेता पनि टुङ्गो लगाउने आचार्यले बताए । ‘त्यसपछि सरकार गठनको औपचारिक प्रक्रिया अघि बढ्छ,’ उनले भने ।

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित ११० सांसदलाई चैत ५ गते बिहीबार निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम राखेको छ । समानुपातिक सांसदलाई प्रमाणपत्र दिएलगत्तै आयोगले निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने छ ।

‘आयोगले निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि सरकार गठनको औपचारिक बाटो खुल्छ,’ रास्वपाका अर्का एक पदाधिकारीले भने, ‘आन्तरिक रूपमा गर्नुपर्ने धेरैजसो काम त भइरहेका छन्, तर त्यो विषयमा अहिले सवै भन्न सकिँदैन ।’

संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्था अनुसार रास्वपाले वरिष्ठ नेता शाहलाई प्रधानमन्त्री बनाउन पहिला संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ । त्यसका लागि रास्वपाले आफ्नो पार्टीको विधानमा समेत केही फेरबदल गर्ने तयारी गरेको रास्वपा प्रवक्ता मनिष झाको भनाइ छ ।

‘संसदीय दलको नेता बनाउने प्रक्रियाको लागि विधान संशोधन गर्नुपर्ने हुन्छ । यसको लागि केन्द्रीय समितिको बैठक कुर्नुपर्छ,’ प्रवक्ता झाले भने, ‘यसमा आन्तरिक र अनौपचारिक छलफल गरेका छौँ ।’

झाले बालेनलाई दलको नेता बनाउनेमा कुनै शंका नगर्न पनि आग्रह गरे । ‘एउटा विषय स्पष्ट पारौँ । हामी जिम्मेवार छौँ, हाम्रो प्रतिबद्धता हामीले बिर्सेका छैनौँ । केही होला तलमाथि  कि भन्ने आशंका नगरियोस्,’ बालेनलाई दलको नेता बनाउन रास्वपाले आलटाल गरेको भनेर चर्चा चलेपछि प्रवक्ता झाले चैत १ गते यस्तो स्पष्टिकरण दिएका थिए ।

रास्वपाका नेताहरूका अनुसार चैत दोस्रो साताभित्र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठन गर्नेगरी आन्तरिक गृहकार्य भइरहेको छ ।

सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापति डा. स्वर्णीम वाग्ले र डीपी अर्यालबिच भावी सरकार कस्तो बनाउने, कस्ता व्यक्तिलाई मन्त्री बनाउने, सरकार बनेलगत्तै के कस्ता काम सुरु गर्ने लगायतका विषयमा छलफल हुँदै आएको छ ।

‘सभापति लामिछानेले पार्टी हाँक्ने र वरिष्ठ नेता शाहले सरकार चलाउने सहमति अनुसार नै नेताहरूबिच सरकारको आकार र मोडालिटीबारे छलफल भइरहेको छ,’ बालेन निकट एक नेताले रातोपाटीसँग भने, ‘शीर्ष नेताबिचको सहमति अनुसार बालेन शाहको पूरै ध्यान राम्रो टिम बनाउन केन्द्रित छ ।’

ती नेताका अनुसार शाहले आफ्नो काम गर्ने शैलीसँग मेल खानेगरी काम गर्नसक्ने व्यक्तिहरू छनोट गरेर आफ्नो मन्त्रिमण्डलमा समावेश गर्न चाहेका छन् । ‘आफ्नो वर्किङ स्टाइलसँग मिल्ने गरी काम गर्न सक्ने योग्य र क्षमतावान सदस्य टिममा रहोस् भन्ने बालेनजीको भनाइ छ,’ ती नेताले भने, ‘त्यसमा समावेशीता र भूगोल पनि समेट्नुपर्ने त छँदैछ ।’

बालेन निकट रास्वपा नेता भुपदेव शाहले नेताहरू नयाँ सरकार गठनको आन्तरिक गृहकार्यमै रहेकाले को व्यक्ति मन्त्री हुने, कुन मन्त्रालयको जिम्मा कसलाई दिने, क–कसलाई समेट्ने भन्नेजस्ता विषयको कुनै निर्क्योल भइनसकेको बताए ।

‘मन्त्रीमा क–कसलाई समेट्ने भन्ने निर्क्योल भइसकेको छैन,’ उनले रातोपाटीसँग भने ।

रास्वपा नेताहरूका अनुसार चुनावमा झन्डै दुई तिहाइ मत पाएको रास्वपाको नेतृत्वमा बन्ने सरकारले जनताका अपेक्षालाई सम्बोधन गर्नेगरी काम गर्नसक्ने नेताहरूलाई मन्त्रीमण्डलमा समावेश गरिनेछ । ‘जनताका अपेक्षा सम्बोधन गर्ने पहिलो प्राथमिकता र सुशासन कायम गर्न हाम्रो सरकारको जोड रहनेछ,’ रास्वपा उपसभापति डोलप्रसाद (डीपी)अर्यालले मंगलबार नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा भने, ‘निर्वाचनमा पार्टीले जित हासिल गरे पनि देश र जनताले जित्न अझै बाँकी छ ।’

भ्रष्टाचार अन्त्य गर्दै हरेक नेपालीलाई ‘मेरो लागि सरकार छ’ भन्ने महसुस गराउने गरी अबको सरकार र संसदले काम गर्न सक्नुपर्ने अर्यालको भनाइ छ । उनले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहप्रति जनताले राखेको आशा, भरोसा र विश्वासकै कारण चुनावमा ठुलो सफलता प्राप्त भएको उल्लेख गर्दै इतिहास लेख्ने यो अवसरलाई राष्ट्रका लागि सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

रास्वपा नेताहरूका अनुसार बालेनले जेनजी आन्दोलनको म्यान्डेट र जनअपेक्षा सम्बोधन गर्न सक्ने छरितो र परिणाममुखी मन्त्रीमण्डल बनाउने गरी अघि बढ्न पार्टीले अनुमति दिइसकेको छ । सोही अनुसार केही निश्चित मापदण्ड बनाएर मन्त्री चयन गर्ने तयारी समेत भइरहेको छ । रास्वपाले चुनावी बाचापत्रमा १८ वटा मन्त्रालय उल्लेख गरेकाले सोही अनुसार मन्त्रालयको संरचनाका सवालमा समेत छलफल भएको नेताहरूको भनाइ छ ।

रास्वपा नेताहरूका अनुसार बालेन नेतृत्वमा बन्ने सरकारमा अर्थमन्त्रीका रूपमा उपसभापति डा. स्वर्णीम वाग्ले रहने लगभग निश्चित भए पनि गृह, रक्षा, परराष्ट्रजस्ता महत्त्वपूर्ण मन्त्रालयमा कसलाई लैजाने भन्ने सभापति लामिछाने र शाहबिच छलफल गरेर टुङ्ग्याउने तयारी भएको बताइएको छ ।

यद्यपि गृहमन्त्रीका रूपमा उपसभापति डीपी अर्याल, काठमाडौँ–३ बाट चुनाव जितेका र बालेनका विश्वासपात्र मानिएका राजुनाथ पाण्डे तथा ओखलढुंगाबाट चुनाव जितेका विश्वराज पोखरेलसहितको नाम चर्चामा छ । अर्याल र पोखरेल सभापति लामिछाने निकट भनेर चिनिन्छन् भने पाण्डे बालेन निकट भनेर परिचित छन् ।