दिनेश राना/धनगढी। सुदूरपश्चिम प्रदेशको अन्न भण्डार मानिने कैलाली र कञ्चनपुरसहितका जिल्लामा पाकेर झुलिसकेको बर्खे धानबाली भित्र्याउने समयमा वर्षाको सम्भावनाले किसान चिन्तित बनेका छन् ।
गत जेठ/असारमा रोपिएको धान अहिले काट्न ठिक्क भए पनि वर्षा हुने पूर्वानुमानले गर्दा किसानले बाली काट्न पाएका छैनन् । धनगढीका किसान वीरबहादुर रानाका अनुसार मौसमको भर नहुँदा दुई हप्ताअघि नै भित्र्याउनुपर्ने धान खेतमै छ ।
हालै परेको पानीले काटेर खेतमै सुकाइएका धान भिजेर क्षति पुगेको किसानको गुनासो छ । दशैँपछि तिहारको मुखमा पाकेको बाली काट्ने चिन्ताले किसानलाई सताएको छ ।
मनसुन निष्क्रिय भइसके पनि स्थानीय वायुको प्रभावले कैलालीसहितका केही क्षेत्रमा वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ ।
कैलाली (७२,५०० हेक्टर) र कञ्चनपुर (४८,४९० हेक्टर) मा सबैभन्दा बढी धान खेती हुने यस प्रदेशमा पाकेको धानबालीमा क्षति पुग्दा वर्षभरिको खाद्यान्न जोहोमा चिन्ता थपिएको छ ।