बेलडाँडी । एक हाँसिला अनुहार, परिवारको धुरी, गाउँलेहरूका दुःखमा साथ दिने, साना कुरा नचुपाउने, कसैको अन्याय सहन नसक्ने नाम थियो – हरिकिसन राना । बेलडाँडी गाउँपालिका–३ कमरीका भैंसीपालक किसान हरकिशन रानाको रहस्यमय मृत्युले एक महिना क्रस गरेको छ । अझै घटना अज्ञात नै छ ।
बैशाख ९ गते एका बिहानै बेलौरी–१०, शिवनगरस्थित निर्मल आर्यघाट नजिकै जलिरहेकोे मोटरसाइकलसँगै फेला परेको उनको शवले गाउँको मुटु हल्लायो, सहरलाई चकित पा¥यो । तर त्यो नाम एउटा जलेको मोटरसाइकलसँगै खरानी भयो । अनि शुरु भयो हरकिशन रानाको मृत्युप्रति आम नागरिकमा उब्जिएका गम्भीर प्रश्नहरूको आगो–
हरकिशन राना किन मारिए होलान् ?– के उनको मृत्युसँग आर्थिक लेनदेनको विषय जोडिएको थियो ?– के कसैले उनीसँग व्यक्तिगत रिसइवी राखेको थियो ?
को–को थिए हरकिशन रानाका सम्भावित दुस्मन ?– के गाउँभित्रको कुनै समूह वा व्यक्तिसँग लामो समयदेखि विवाद थियो ?– के उनी कुनै संवेदनशील मुद्दामा स्पष्ट बोल्ने बानीका कारण लक्षित भए ?
के उनको भैंसीपालन व्यवसाय नै कारण थियो?– के उनले कसैको अवैध धन्दा वा स्वार्थमा बाधा पु¥याएका थिए ?
के उनी गाउँमा कुनै राजनीतिक वा सामाजिक क्रियाकलापमा सक्रिय थिए ?– यदि हो भने, के त्यही भूमिकाले उनलाई शत्रु बनायो ?
मृत्युपूर्व उनको व्यवहारमा केही अस्वाभाविक परिवर्तन देखिएको थियो कि ?– के उनले कसैसँग डर वा चिन्ता व्यक्त गरेका थिए ?
उनीसँग अन्तिम पटक सम्पर्क गर्ने व्यक्ति को थिए ?– मृत्युपूर्व राति वा विहान उनी कोसँग भेटेका थिए ?
घटनास्थलमा उनको जलेको मोटरसाइकल – के त्यो आत्महत्या हो त? कि योजनाबद्ध हत्या ?– के शवको अवस्थामा बलपूर्वक केही भएको संकेत थियो ?
प्रहरी अनुसन्धान किन यति ढिलो भइरहेको छ ?– के प्रहरीमाथि कुनै दबाब छ? वा अनुसन्धानमा लापरवाही ? वा प्राविधिक रिपोर्ट आउन बाकी ?
हरकिशन रानाले आफूलाई खतरा रहेको संकेत पहिले नै दिएका थिए कि ?– के उनले कोहीबाट धम्की पाएका थिए ?
उनको मृत्युलाई ‘दुर्घटना’ देखाउने प्रयास भइरहेको त छैन ?– के कुनै शक्तिशाली समूह यो घटना दबाउन खोजिरहेको छ ?
यस्ता हजारौं सवालहरु उत्तर खोजिरहेका छन् । आशा गरौं हजारौं सवालको उत्तर एकैपटक प्रहरीबाट तथ्य सहित आउने नै छ ।
एक साधारण किसानको यस्तो भयावह अन्त्यले आम मानिसमा शंका जन्माउनु अस्वाभाविक होइन। आज, यस्ता प्रश्नहरू गाउँ देखि सहरका गल्ली, चौतारी, चिया पसलदेखि सदनसम्म घन्किरहेका छन् ।






