महेन्द्रनगर। कम्युनिष्ट युवा संगठन नेपालका कार्यकर्ताहरुले डीभिजन वन कार्यालय कञ्चनपुरका डीभिजन वन अधिकृत रामबिचारी ठाकुरमाथि दुर्व्यवहार गरेका छन्। बिहीबार कार्यकक्षमै ठाकुरमाथि कालो रङ फालेर दुर्व्यवहार गरिएको हो। सेवाग्रहीका रुपमा कार्यालयमा आएका ३ जनाको समूहले आफूमाथि कालो रङ फालेर दुर्व्यवहार गरेको डीभिजन वन अधिकृत ठाकुरले बताए।
‘तीन जना मान्छेहरु सेवाग्राहीको रुपमा आएका थिए। खल्ला मसेट्टीको सामुदायिक वनको मुद्दा के भयो भनेर सोध्नुभयो,’ रामबिचारीले भने, ‘३ वर्ष अगाडीको मुद्दा हो। अहिलेसम्म के भयो भन्नुभयो, त्यसबारे म बुझ्छु भन्दा उनीहरुले कलर फालरे भागेँ।’ घटनाबारे कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढाकाललाई जानकारी गराएको उनले बताए।
उक्त सूचना पाएपछि अहिले प्रहरीलाई त्यसतर्फ पठाइसकेको कञ्चनपुरका प्रहरी प्रमुख एसपी खड्कबहादुर खत्रीले बताए। ‘उहाँलाई मोसो दलेको सूचना आएको छ। कसले र सकिन छ्यापे भन्ने आइसकेको छैन। अहिले प्रहरी त्यसतर्फ गइसकेको छ’, एसपी खत्रीले भने।






