महेन्द्रनगर । केही दिनदेखि बढेको अत्यधिक गर्मीपछि मंगलबार राति झरी परेपछि बुधबार दिनभर शितल भयो । दिनभर झरी आउने आशमा सर्वसाधारणले साँझ कुर्न प¥यो । साँझपख झरी आएर सर्वसाधारणको प्रतिक्षाको घडी तोडियो ।
अहिले झरी परि रहेको छ ।गर्मीले अस्तव्यस्त जीवनलाई झरीले केही राहत दिएको छ । झरी आउन केही दिन अघि मात्रै सार्वजनिक महालेखा परीक्षको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले भने सर्वसाधारणलाई झरीको शितलमा आनन्द बस्न नसक्ने अवस्थातिर पुगाएको छ ।
महालेखा परीक्षकको कार्यालयको ६२ औँ वार्षिक लेखा परीक्षण प्रतिवेदन २०८२ अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा कञ्चनपुरका स्थानीय तहको बेरुजु आधा अर्ब नजिक पुगेको औल्याइएको छ । महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको बेरुजु रकमलाई हेर्दा जेठको गर्मीमा परेको झरीलाई बिर्साउने गरी बेरुजुको बाढी आएको रुपमा लिन सकिने अवस्था देखिएको छ ।
९ स्थानीय तहमा ४० करोड ६० लाख बेरुजु महालेखाको प्रतिवेदनमा औल्याएको छ । कञ्चनपुरमा दुई गाउँपालिका र सात नगरपालिका छन् ।
बेलौरी नगरपालिकाले यस वर्ष बेरुजुमा सबैलाई उछिनेर शीर्ष स्थान बनाएको छ । बेदेकाट नगरपालिकाले सबैभन्दा कम बेरुजु हुने स्थानीय तहमा परेको छ ।
स्थानीय तहको लेखा परीक्षण गरिएको रकमका आधारमा भीमदत्त नगरपालिकामा सबैभन्दा बढी बेरुजु छ ।भीमदत्त कञ्चनपुरको सबैभन्दा पूराना नगरपालिका हो ।बेलौरी नगरपालिकाको बेरुजु रकम ६ करोड ७३ लाख छ । यो लेखा परीक्षण गरिएको रकमको ५ दशमलव ३५ प्रतिशत हो । बेलौरीमा एक अर्ब २५ करोड ९१ लाख रकमको लेखा परीक्षण गरिएको थियो ।
बेलौरीमा माओवादी केन्द्रका नेता पोतिलाल चौधरी मेयर छन् । उनी २०७४ देखि लगातार मेयर छन् । सबैभन्दा बढी प्रमुख प्रशासकीय अधिकृत फेरिने नगरपालिकामा बेलौरी सबैभन्दा अगाडि आउँछ ।काँग्रेस कञ्चनपुरका पूर्व सचिव भोजराज बोहराले बेदकोटलाई सबैभन्दा कम बेरुजु भएको नगरपालिका बनाएका छन् ।
उनी २०७९ को स्थानीय तह निर्वाचनबाट मेयर निर्वाचित भएका हुन् ।बेदकोट लेखा परीक्षण गरिएको रकमको शुन्य दशमव ४८ प्रतिशत मात्रै बेरुजु छ ।
एक अर्ब तीन करोड २२ लाखको लेखा परीक्षण हुँदा ८२ लाख ७६ हजार मात्रै बेरुजु आएको छ ।आर्थिक वर्ष २०८०÷०८१ मा बेदकोटमा पदमराज भट्ट प्रमुख प्रशासकीय अधिकृत थिए ।
अहिले उनी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी बाहिर छन् ।तत्कालिन जिल्ला विकास समितिमा लामो समय आन्तरिक लेखा परीक्षण शाखा सम्हालेका केशव भट्ट बेदकोटमा आलेप शाखा प्रमुख छन् ।बेदकोटका आलेप शाखा प्रमुख भट्टले आन्तरिक लेखा परीक्षणका क्रममा मसिनो ढङ्गले कागजात हेर्ने गरिएको बताए ।
बेदकोटपछि छिमेकी शुक्लाफाँटा नगरपालिका बेरुजु कम भएको स्थानीय तह भएको छ । शुक्लाफाँटामा एमालेका नेता रण बहादुर महरा मेयर छन् । २०७९ मा मेयर निर्वाचित भएका हुन् ।
शुक्लाफाँटामा लेखा परीक्षण गरिएको एक अर्ब ५८ करोड ४१ लाख रकममा शुन्य दशमलव ७१ प्रतिशत बेरुजु आएको छ ।
यो एक करोड १३ लाख हो ।शुक्लाफाँटामा २०८०÷०८१ मा टिकेन्द्र प्रसाद भट्ट प्रमुख प्रशासकीय अधिकृत थिए । अहिले उनी पनि जिम्मेवारी बाहिर छन् ।कञ्चनपुरको सबैभन्दा पूरानो नगरपालिका भीमदत्तमा १५ करोड एक लाख बेरुजु रकम आएको छ ।
यो ४ दशमलव २४ प्रतिशत हो । भीमदत्तमा तीन अर्ब ५३ करोड १८ लाख रकम लेखा परीक्षण गरिएको थियो ।भीमदत्तमा काँग्रेस कञ्चनपुरका सभापति पदम बोगटी मेयर छन् । उनी २०७९ मा मेयर निर्वाचित भएका हुन् ।काँग्रेस कञ्चनपुरका सचिव हेमराज ओझा कृष्णपुर नगरपालिकाका मेयर छन् ।
कृष्णपुरमा ४ करोड ७१ लाख बेरुजु आएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा १ अर्ब ८६ करोड ३७ लाख रकम लेखा परीक्षण गरिएको थियो । यो रकमको २ दशमलव ५३ प्रतिशत बेरुजु आएको हो ।पुर्नवास नगरपालिकाको २ दशमलव २७ प्रतिशत बेरुजु आएको छ ।
एक १ अर्ब २६ करोड २२ लेखा परीक्षण हुँदा २ करोड ८६ लाख बेरुजु आएको छ । शिक्षक पृष्ठभूमिका काँग्रेस नेता तोयप्रसाद शर्मा पुनर्वासका मेयर छन् ।महाकाली नदी पारीको दोधारा चाँदनीले पनि बेरुजुमा फड्को मारेको छ ।
दोधारा चाँदनीमा एमाले किशोर कुमार लिम्बु मेयर छन् । ९९ करोड ४२ लाख लेखा परीक्षण भएकोमा ३ करोड ८४ लाख बेरुजु आएको छ ।
यो ३ दशमलव ८७ प्रतिशत हो ।दुई गाउँपालिकाको लेखा परीक्षण रकमका आधारमा बेरुजु हाराहारी छ । बेलडाँडीमा काँग्रेस कञ्चनपुरका उप सभापति हरिशचन्द्र राना अध्यक्ष छन् । राना शिक्षण पेशा छाडेर चुनाव लडेका हुन् ।
बेलडाँडी गाउँपालिकाको बेरुजु ४ दशमलव शुन्य ६ प्रतिशत छ । ६७ करोड १ लाख लेखा परीक्षण हुँदा २ करोड ७२ लाख बेरुजु आएको छ ।
लालझाँडी गाउँपालिकाको बेरुजु रकम २ करोड ७५ लाख छ । ९३ करोड ९० लाख लेखा परीक्षण हुँदा यो बेरुजु आएको छ । यो रकम २ दशमलव ९३ प्रतिशत हो ।






