पालिकाहरू मुकदर्शक हुँदा दुई करोड लगानीमा स्थापना भएको बी.पी.एल. अक्सिजन प्लान्ट डेढ वर्षदेखि बन्द

April 20, 2025
पालिकाहरू मुकदर्शक हुँदा दुई करोड लगानीमा स्थापना भएको बी.पी.एल. अक्सिजन प्लान्ट डेढ वर्षदेखि बन्द

 कञ्चनपुरको बेलौरी नगरपालिकामा सञ्चालनमा ल्याइएको बी.पी.एल. अक्सिजन प्लान्ट विगत करिब डेढ वर्षदेखि बन्द अवस्थामा रहेको छ । श्रीपुर स्वास्थ्य केन्द्रमा स्थापना गरिएको उक्त प्लान्ट २०७९ असोज १४ गतेदेखि सञ्चालनमा आएको थियो भने २०८० सालको पौष महिनादेखि सञ्चालन बन्द भएको हो ।

बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाको संयुक्त लगानीमा स्थापना गरिएको उक्त प्लान्ट करिब २ करोड रुपैयाँको लागतमा निर्माण गरिएको थियोे । जसमा बेलौरी नगरपालिकाले १ करोड, पुनर्वास नगरपालिकाले ६५ लाख र लालझाडी गाउँपालिकाले ३५ लाख रुपैयाँ लगानी गरेका थिए।प्लान्ट सञ्चालनमा आएको एक वर्ष तीन महिनामै प्राविधिक कारणले बिग्रिएपछि बन्द भएको हो । तर प्लान्ट किन बन्द भयो र अहिलेसम्म पुनः सञ्चालनमा किन ल्याउन सकिएन भन्ने विषयमा साझेदारी तीनै पालिकाहरूले स्पष्ट जवाफ दिन सकेका छैनन् ।

कञ्चनपुरको दक्षिणी क्षेत्रका नागरिकका लागि आपतकालीन अवस्थामा अक्सिजनको सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले स्थापना गरिएको प्लान्ट बन्द हुँदा अहिले पनि कैलालीको धनगढीबाट अक्सिजन झिकेर उपचार गर्नुपर्ने बाध्यता यथावत् छ । स्थानीयवासीहरू पालिकाहरूको उदासीनता र बेवास्ताप्रति आक्रोशित छन् । उनीहरू भन्छन्, “जनताको करबाट निर्माण भएको प्लान्ट लामो समयसम्म बन्द रहनु दुर्भाग्यपूर्ण मात्र होइन, जनस्वास्थ्यप्रति गरिएको गम्भीर लापरबाही हो ।”