बेलाैरी, कञ्चनपुर – कञ्चनपुरको बेलाैरी नगरपालिका वडा नम्बर ७, बरैयास्थित गणेश माध्यमिक विद्यालयको मैदानमा आयोजित तेस्रो नगरपालिका स्तरीय भेट्रान भलिबल प्रतियोगिता २०८१ शनिबार सम्पन्न भएको छ। तीन दिनसम्म चलेको रात्रीकालीन प्रतियोगिताको उपाधि भीमदत्त नगरपालिकाले आफ्नो नाममा लेखाएको छ।
शनिबार राति सम्पन्न फाइनल खेलमा भीमदत्त नगरपालिकाले बेलाैरी नगरपालिका वडा नम्बर ६ लाई पराजित गर्दै विजेता बनेको हो। प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा आयोजक टोली “ए”ले धनगढीमाथि विजय हासिल गर्यो।
चैत २८ गते बिहीबार सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार मन्त्री प्रकाश बहादुर देउवाले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए। प्रतियोगिताको समापन भने कञ्चनपुर जिल्ला समन्वय प्रमुख दुर्गा बोहराले गरेका हुन्।
प्रतियोगितामा ४० वर्ष माथिका पुरुष खेलाडीहरूको ७ टोलीले सहभागिता जनाएका थिए। प्रतियोगिताको मूल उद्देश्य भेट्रान खेलाडीहरूबीच सद्भाव, मित्रता र खेलप्रतिको लगाव अभिवृद्धि गर्नु रहेको आयोजक वडा खेलकुद सञ्चालन समिति अध्यक्ष तेजबहादुर चन्दले जानकारी दिए।
उनले भने, “यस किसिमका प्रतियोगिताले अनुभवी खेलाडीहरूलाई पुनः मैदानमा सक्रिय बनाई उनीहरूको अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्न सहज बनाएको छ। आगामी वर्षहरूमा अझ व्यवस्थित रूपमा प्रतियोगिता सञ्चालन गर्ने हाम्रो लक्ष्य छ।”
विजेता भीमदत्त नगरपालिकाले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। दोस्रो भएको बेलाैरी वडा नम्बर ६ ले १५ हजार तथा तेस्रो भएको आयोजक टोली “ए”ले ७ हजार नगद पुरस्कार प्राप्त गरे।
जिल्ला समन्वय प्रमुख दुर्गा बोहरा, वडा अध्यक्ष प्रकाश श्रेष्ठ, प्रहरी निरीक्षक भाष्कर चन्द तथा खेलकुद विकास समितिका अध्यक्ष तेजबहादुर चन्दलगायतले विजेता टोलीहरूलाई पुरस्कार वितरण गरेका थिए।
कार्यक्रममा सभापति तथा वडा नम्बर ७ का अध्यक्ष प्रकाश श्रेष्ठले खेलकुदका यस्ता गतिविधिले समुदायमा स्वास्थ्य, अनुशासन र नेतृत्व क्षमता विकास गर्ने बताए। उनले भने, “आगामी वर्षहरूमा अझै धेरै टोलीलाई सहभागी गराई कार्यक्रमलाई व्यापक बनाउने हाम्रो योजना छ।”
प्रतियोगितामा सयौं स्थानीय दर्शकहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो। आयोजक समिति र स्थानीयहरूको व्यवस्थापन र सहभागिताले प्रतियोगितालाई थप प्रभावकारी बनाएको थियो। समापन समारोहमा अतिथिहरूले आगामी दिनमा खेलकुदका गतिविधिमा थप लगानी र पहल आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाहरूप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।