कञ्चनपुरको लालझडी गाउँपालिका–२ स्थित हेभन पर्ल वर्ड एकेडेमीले आफ्नो १५औं वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयको ऐतिहासिक यात्राको स्मरण र भावी योजनाको घोषणा स्वरूप आयोजित उक्त कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको हो।
समारोहका प्रमुख अतिथिका रूपमा लालझडी गाउँपालिकाका अध्यक्ष निर्मल राना रहेका थिए भने विशिष्ट अतिथिका रूपमा गाउँपालिकाका पूर्व अध्यक्ष मदनसेन बडायकको उपस्थिति थियो। त्यसैगरी वडा नं. ५ का अध्यक्ष पहल बहादुर थापा, सदस्य पार्वती लुवार, बहाई समुदायका प्रतिनिधि सुदीप राना लगायतको पनि उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा लिटल गार्डन ई. स्कुलका संचालक एवं विशिष्ट अतिथि बसन्त नेपालीले विद्यालयले स्थानीय शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरेका थिए। उनले विद्यालयको वातावरण मिलनसार, अनुशासित र समर्पित भएको उल्लेख गर्दै शैक्षिक क्षेत्रमा अझ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा संचालक सोमनाथ रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बबिता रानासहित शिक्षिका काजल राना, निलम राना, दिपा राना, सुरेज राना, सिंह धामी, ईश्वरी चौधरी, संगीत बडायक, निर्मला रानालाई विद्यालयप्रति योगदानको कदर स्वरूप सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि निर्मल रानाले विद्यालयले समुदायमा शिक्षा फैलाउने कार्यमा पुर्याएको योगदानको सराहना गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गर्नुभयो। उहाँले विद्यार्थीको समुन्नत भविष्य निर्माणमा विद्यालय परिवारको भूमिका झनै महत्वपूर्ण हुने बताए।
त्यसैगरी विशिष्ट अतिथि मदनसेन बडायकले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै तीनै तहका सरकारहरूले गुणस्तर सुधारमा अझ गहिरो चासो दिनुपर्नेमा जोड दिए। भानु माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक दयाकृष्ण जोशीले अभिभावक, शिक्षक र विद्यार्थीबीचको सहकार्यले मात्र गुणस्तरीय शिक्षा सम्भव हुने धारणा व्यक्त गरेका छन्।
प्रधानाध्यापक बबिता रानाले विद्यालयको हालको अवस्था, शैक्षिक उपलब्धि तथा भावी योजना प्रस्तुत गर्दै विद्यालयमा हाल २२५ विद्यार्थी र २० जना कर्मचारी कार्यरत रहेको जानकारी दिनुभयो। साथै, कार्यक्रमको स्वागत मन्तव्य दिँदै विद्यालय परिवारले निरन्तर मेहनत गर्दै आएको पनि बताएका छन्।
कार्यक्रममा विद्यालयका अभिभावकहरू धौलसिङ कुवेर, रुकमण चौधरी, राममती राना, भगवती राना, हिरा रानालाई विद्यालयको समृद्धिमा योगदान पुर्याएको भन्दै दोसल्ला ओढाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो। सम्मान विद्यालय संचालक सोमनाथ रानाले प्रदान गरेका थिए। कार्यक्रमको सञ्चालन शिक्षिका रिता रानाले गरेका थिए। उक्त अवसरमा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूले लोक नृत्य, नाटक, गजल, हार्मोनियम लगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी कार्यक्रममा रौनकता थपेका थिए।
यस वर्षको वार्षिक परीक्षा नतिजा पनि समारोहकै अवसरमा सार्वजनिक गरिएको थियो। कक्षा ५ बाट भागे राना ४.०० जीपीए सहित विद्यालय भरिमा प्रथम, रोशनी राना कक्षा ४ मा ३.९२ जीपीए सहित दोस्रो, सम्झना कुबेर कक्षा ५ बाट ३.९२ जीपीए सहित तेस्रो स्थानमा आउन सफल भएका छन्। विद्यालय व्यवस्थापन समितिले सबै सफल विद्यार्थीलाई बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरेको छ।
विद्यालयले गाउँपालिकास्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता तथा अन्य विविध खेलकुद प्रतियोगिताहरू—जस्तै प्लान्ट सुटआउट, कबड्डी, भलिबल, फुटबल, दौड आदि—मा समेत उल्लेखनीय सफलता हासिल गरेको जानकारी दिइएको छ।
कार्यक्रमको एक विशेष क्षणमा छात्रा भागे रानाले ‘आमाको माया’ शीर्षकमा भावुक अभिव्यक्ति प्रस्तुत गर्दै आमाको योगदान र ममता विषयमा आफ्ना विचार सार्वजनिक गरेकी थिइन्, जसले उपस्थित दर्शकहरूलाई भावुक बनायो।
विद्यालय परिवार, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायको उत्साहजनक उपस्थितिमा सम्पन्न भएको यो १५औं वार्षिकोत्सव समारोहले विद्यालयको प्रगति यात्रालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।