नेपाल रानाथारु समाजद्वारा सांस्कृतिक पर्वहरूमा एकरुपता ल्याउन विशेष भित्तेपात्रो सार्वजनिक

२४ चैत्र २०८१, सोमबार
नेपाल रानाथारु समाजद्वारा सांस्कृतिक पर्वहरूमा एकरुपता ल्याउन विशेष भित्तेपात्रो सार्वजनिक

धनगढी: रानाथारु समुदायमा प्रचलित विविध सांस्कृतिक पर्वहरूमा एकरुपता ल्याउने उद्देश्यका साथ नेपाल रानाथारु समाजले विशेष भित्तेपात्रो सार्वजनिक गरेको छ। धनगढी उप–महानगरपालिका–८ को आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष कमल सिंह रानाको अध्यक्षतामा उक्त भित्तेपात्रो सार्वजनिक गरिएको हो ।

भित्तेपात्रोमा रानाथारु जातिका प्रमुख पर्वहरूलाई ‘आकासे निलो’ रंगले चिन्हित गरिएको छ। एक हजार प्रति प्रकाशन गरिएको यो भित्तेपात्रो कैलाली र कंचनपुर जिल्लाका सबै गाउँका भलमन्सा र जनप्रतिनिधिहरूलाई वितरण गरिने तयारी छ ।

महासचिव तिर्थराज रानाले यस अभियानले समुदायमा एकरुपता ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै चाँडै नै कैलाली र कंचनपुरका सम्पूर्ण भलमन्सालाई सहभागी गराई एक भव्य सम्मेलन आयोजना गरिने जानकारी दिए ।

अध्यक्ष कमल सिंह रानाले नेपाल र भारतमा बसोबास गर्ने रानाथारु समुदायले यसै भित्तेपात्रो अनुसार पर्व मनाउने र यसले सांस्कृतिक समन्वय, परिचय र गौरव अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए ।

कार्यक्रममा रानाथारु पञ्चाङ्ग समितीका संयोजक तथा महासचिव तिर्थराज राना, सदस्य भंगी राना, सदस्य सागर राना, कार्यसमिति सदस्य लालमन राना र सदस्य श्यामु राना लगायतको उपस्थिति थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio