नेपाल रानाथारु युवा समाजद्वारा होरि मिलन तथा खखडेहरा कार्यक्रम २०८१

८ चैत्र २०८१, शनिबार

काठमाडौं, चैत ९ – रानाथारु समुदायको कला, संस्कृति, भाषा, इतिहास, रीतिरिवाज तथा भेषभुषा संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल रानाथारु युवा समाजद्वारा आयोजित होरि मिलन तथा खखडेहरा कार्यक्रम २०८१ भव्यताका साथ सम्पन्न भएको छ । काठमाडौंको नारायणचौर पार्क, नक्सालमा आयोजना भएको यस कार्यक्रममा समुदायका विभिन्न व्यक्तित्वहरू, संस्कृतिकर्मी, तथा स्थानिय बासिन्दाको उल्लेखनीय उपस्थिति रह्यो ।

कार्यक्रमको प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन राज्य मन्त्री माननीय अरुण कुमार चौधरीले रानाथारु समुदायको विशिष्ट संस्कृति, भेषभुषा र परम्परा संरक्षणका लागि आवश्यक पहल गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नेपाल विविधताले भरिएको देश भएको उल्लेख गर्दै सबै जाति, भाषा र संस्कृतिको सम्मान गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

यस अवसरमा रानाथारु समुदायको परम्परागत होरि नृत्य, सांस्कृतिक झाँकी तथा लोकगीत प्रस्तुत गरिएको थियो । स्थानीय कलाकारहरूले समुदायको मौलिक पहिचान झल्काउने प्रस्तुति दिएका थिए। सहभागीहरूले परम्परागत पहिरनमा सजिएर नृत्य र गीतमार्फत आफ्नो संस्कृतिको झलक प्रस्तुत गरे।

नेपाल रानाथारु युवा समाजका अध्यक्षले समुदायको पहिचान संरक्षण गर्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा अझ विस्तारित रूपमा आयोजना गर्ने योजना रहेको जानकारी दिए।

कार्यक्रममा विशेष व्यक्तित्वहरू, स्थानीय नेताहरू, तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले रानाथारु समुदायको संस्कृति झल्काउने यस्ता कार्यक्रमहरूले राज्यको मूल प्रवाहमा समुदायको सहभागिता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रमको समापनमा कार्यक्रमका सभाध्यक्ष कमल रानाले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि समुदायको एकता र पहिचानलाई अझ मजबुत बनाउन निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल रानाथारु समाजले देशविदेशमा रानाथारु समुदायलाई खेलमार्फत चिनाउने विभिन्न खेलाडीहरूलाई सम्मान पनि उक्त कार्यक्रममा गरेको थियो भने कैलाली, कञ्चनपुरदेखि आफ्नै खर्चमा आफ्नो संस्कृति, भेषभुषा, पहिचान झल्काउन पाल्नुभएका विभिन्न कलाकारलाई समेत सम्मान गरेको थियो।

Wedding Story advertisement Of Jems Movies & Photo Studio