कञ्चनपुर, पुर्नवास – श्री अमर गोकुल सामुदायिक वन उपभोक्ता समूहले हालै पत्रकार सम्मेलन गरी समूहमाथि लगाइएको भ्रामक र कपोकल्पित आरोपप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

समूहका अध्यक्ष मानबहादुर थापाले नेतृत्व गरेको १५ सदस्यीय कार्यसमिति, उपसमितिहरू, र टोल समितिहरूले सामुदायिक वनको संरक्षण र व्यवस्थापनमा समर्पित हुँदै आएको बताउँदै यस आर्थिक वर्षमा सम्पन्न काठ, दाउरा संकलन तथा वितरणका गतिविधिबारे जानकारी गराउनुभयो। समूहले प्रदेश सरकार, वन निर्देशनालय, र डिभिजन वन कार्यालयको निर्देशन अनुसार वार्षिक कटान स्वीकृति प्राप्त गरी २५०० क्यूफिट काठ बिक्री गरेको र प्राप्त रकम बैंकमा दाखिला गरेको जानकारी दिइएको छ।

तर, समूहले लेखा परीक्षणको क्रममा श्रम सिर्जना पत्रिकाका सम्पादक नहकुल देव जिसीले धम्कीपूर्ण शब्द प्रयोग गरी रकम माग गरेको र त्यो माग पूरा नगरेपछि समूह र अध्यक्षमाथि गलत, भ्रामक, तथ्यहीन, र कपोकल्पित समाचार प्रकाशन गरी चरित्र हत्या गर्न खोजिएको आरोप लगाएको छ।

पत्रिकाको २०८१ मंसिर १५ र मंसिर २४ गतेका प्रकाशनमार्फत सार्वजनिक गरिएका सामग्रीले समूह र अध्यक्षलाई बदनाम गर्न खोजिएको भन्दै समूहले कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

समूहले सम्बन्धित निकायहरूलाई छानबिन गरी आवश्यक कानुनी कारबाही अघि बढाउन प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ।

यो मुद्दामा सत्य तथ्य सार्वजनिक गर्न र समाजमा फैलिन सक्ने भ्रामक प्रचार रोक्न सबै सरोकारवालाहरूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने समूहले जोड दिएको छ।