धनगढी, कैलालीकाे धनगढी उपमहानगरपालिका वडा न. ७ मा रहेकाे दाइजो कृषि सहकारी संस्था लि.ले ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को सहयोगमा कृषकहरूलाई १ मिनी पावर ट्रेलर र १२ वटा पावर ट्रेलर ५०% अनुदानमा वितरण गरेको छ।

शनिबार भएको एक कार्यक्रममा पूर्वमन्त्री नारदमुनी राना, धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानालगायतको उपस्थितिमा यी कृषि उपकरणहरू हस्तान्तरण गरिएको हो।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री रानाले यस्ता कार्यक्रमले कृषि क्षेत्रमा उत्पादन बढाउन मद्दत पुग्ने बताए। उनले REED परियोजनाले कृषि क्षेत्रमा युवाहरूलाई आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यसले बेरोजगारी समस्या समाधानमा पनि योगदान पुर्‍याउने बताए।

https://fb.watch/vj3RpqAZ67/

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख रानाले नगरपालिकाले किसानहरूलाई विभिन्न किसिमका सहयोग गर्दै आएको बताइन्। उनले एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत किसानहरूलाई बीउबिजन र कृषि उपकरण उपलब्ध गराउँदै आएको जानकारी दिइन्।

https://fb.watch/vj3NK7ARKg/

दाइजो कृषि सहकारी संस्थाका अध्यक्ष मानबहादुर रानाले यस संस्थाले कृषकहरूलाई विभिन्न किसिमका सुविधा उपलब्ध गराउँदै आएको बताए। उनले संस्थाले कृषि यन्त्रहरूको अतिरिक्त ऋण, रासायनिक मललगायतका सेवाहरू पनि प्रदान गर्दै आएको जानकारी दिए।

धनगढी–७ का वडा अध्यक्ष मोति रानाले यस सहकारीले कृषकहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनले यस संस्थाले स–साना व्यापारी तथा कृषकहरूलाई ऋण पनि दिँदै आएको बताए।