नरेश राना/कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिकाले आइतबार आयोजना गरेको सार्वजनिक सुनुवाइमा गत आर्थिक वर्षको वार्षिक प्रगति सार्वजनिक गरिएको छ। बेलौरी अनलाइन खबर प्रा.लि.को सहजीकरणमा भएको कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले आन्तरिक आम्दानीमा उल्लेखनीय वृद्धि भएको जानकारी गराउनुभयो। खोलानाला ठेक्का लगायतका विभिन्न उपायबाट गाउँपालिकाले १ करोड २९ लाख रुपैयाँ आन्तरिक आम्दानी गरेको उहाँले बताउनुभयो।
सार्कीका अनुसार गाउँपालिकाले ८२.८९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। कुल ४४ करोड ५० लाख बजेटमध्ये झण्डै ३७ करोड ५ लाख खर्च भइसकेको छ। उहाँले गाउँपालिका अध्यक्षसँगको कार्यसम्पादन सम्झौताअनुसार वित्तीय लक्ष्य हासिल भएको बताउँदै सीमित स्रोतसाधनका बाबजुद पनि विकास निर्माणका काम सन्तोषजनक रहेको दाबी गर्नुभयो।

कार्यक्रममा उपप्रमुख सपना राना (चौधरी)ले महिला सशक्तिकरणका क्षेत्रमा भएका कामकाजबारे जानकारी गराउँदै स्थानीयको सक्रियता बढाउन आग्रह गर्नुभयो। स्थानीयवासीले भने सडक, कृषि र पर्यटन क्षेत्रमा थप लगानी गर्नुपर्ने माग राखेका थिए।

गाउँपालिका अध्यक्ष निर्मल रानाले स्थानीय सरकार सञ्चालन ऐनअनुसार विकास निर्माणका काम अघि बढाइएको बताउनुभयो। सडक, तटबन्ध, कृषि, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा गाउँपालिकाले लगानी गरेको उहाँको भनाइ छ। उहाँले सामुदायिक वनले पालिकालाई दिने रकम नबुझाएकोमा कडाइ गर्ने चेतावनी पनि दिनुभयो।



कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, पत्रकारलगायत स्थानीयको उपस्थिति रहेको थियो।