नरेश राना/कञ्चनपुर: कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश स्तरीय सितोरियो कराँते दीक्षान्त समारोह गरिएको छ ।
प्रदेश सितोरियो कराँते संघ सुदूरपश्चिमको प्रदेशको आयोजना र जिल्ला सितोरियो कराँते संघ कञ्चनपुरको व्यवस्थापनमा महेन्द्रनगरको कभर्डहलमा दीक्षान्त समारोह गरिएको हो ।





दीक्षान्त समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य सचिव एवं नेपाल सितोरियो कराँते संघका संरक्षक युवराज लामाले खेलकुदको जगका रूपमा विद्यालय स्तरीय खेलकुद प्रतियोगिताहरू रहेकोले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कराँतेलाई पनि समावेश गरिएकोमा खुसी व्यक्त गर्दै अन्य खेलकुदका विधालाई पनि समावेश गर्नुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै, नेपाल सितोरियो कराँते संघका केन्द्रीय अध्यक्ष दावा गुरुङले नेपालको खेलकुदको इतिहासमा कराँतेले धेरै ठाउँमा सफलता प्राप्त गरेको दाबी गरेका छन् । राष्ट्रका लागि निःशस्त्र कमान्डरका रूपमा कराँतेका खेलाडीहरूको योगदान महत्त्वपूर्ण रहेको उनको भनाइ छ । उनले सबै खेलाडीलाई राष्ट्रका लागि अग्रसर हुन अनुरोध गरेका छन् । सोही अवसरमा सितोरियो कराँते प्रशिक्षण केन्द्रको समुद्घाटन समेत गरिएको वरिष्ठ कराँते प्रशिक्षक विमल खडायतले जानकारी दिएका छन् । उक्त समारोहका बिच कार्तिक तेस्रो साता काठमाडौँमा भएको सातौँ साउथ एसियाली कराँते प्रतियोगितामा स्वर्ण पदक प्राप्त आकाश सेजुवाल र रजत पदक प्राप्त सोनिया तिरुवालाई सम्मान समेत गरिएको छ ।







