नरेश राना / लालझाडी, कञ्चनपुर। कञ्चनपुरको लालझाडी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जालको पालिका स्तरीय बैठक सम्पन्न भएको छ। बैठकमा बालिका तथा समावेशी शिक्षाको प्रवर्द्धन, विद्यालयमा सबै बालबालिकाको समान पहुँच सुनिश्चित गर्ने तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो।
बैठकको सभाध्यक्षता लालझाडी गाउँपालिकाकी उपाध्यक्ष सपना चौधरी राना ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष निर्मल राना को उपस्थिति रहेको थियो। त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्की, बालिका तथा समावेशी शिक्षा सञ्जालका पालिका स्तरीय सम्पूर्ण सदस्य, विभिन्न संघ–संस्थाका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अपाङ्गता भएका बालबालिकाको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
बैठकमा बालिका तथा समावेशी शिक्षा सञ्जालका संयोजक सपना चौधरी रानाले लालझाडी गाउँपालिकाभित्र रहेका प्रत्येक विद्यालयमा आगामी दुई साताभित्र विद्यालयस्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार सञ्जाल गठन सम्पन्न भएपछि सम्बन्धित संघ–संस्थाले आफ्नो कार्यक्षेत्रअनुसार कुन विद्यालयमा के–कस्ता कार्यक्रम तथा क्रियाकलाप सञ्चालन गर्ने भन्ने विषयमा समन्वय गरी योजनाबद्ध रूपमा अघि बढाइनेछ।
कार्यक्रममा सहभागीहरूले विद्यालयमा बालिका, अपाङ्गता भएका बालबालिका तथा अन्य सबै विद्यार्थीका लागि समान अवसर, सुरक्षित सिकाइ वातावरण र गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न सामूहिक सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। उनीहरूले स्थानीय सरकार, विद्यालय र साझेदार संस्थाबीच प्रभावकारी समन्वय भए समावेशी शिक्षाको लक्ष्य हासिल गर्न सहज हुने विश्वास व्यक्त गरे।
बैठकले विद्यालयस्तरमा समावेशी शिक्षा सञ्जाल गठनलाई प्राथमिकता दिँदै बालबालिकामैत्री, समावेशी र समान अवसरयुक्त शैक्षिक वातावरण निर्माणका लागि सबै सरोकारवालाले हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।






