राजकुमार राना (शिक्षक कञ्चनपुर)
मनसुन सुरु भयो, आकाशबाट पानी पर्यो किसानको जाँगर जाग्यो तर खेतमा हाल्ने मल खोई ?
मनसुन सक्रिय भए संगै नेपाली किसानका खेतका गाराहरु पानीले भरिएका छन । अकाशे पानीको भरमा वर्षभरि खाने अन्न उब्जाउने किसानहरुको जाँगर पनि यतिवेला ब्युँझिएको छ । कोही व्याडबाट बीउ उखेल्न व्यस्त छन । कोही हलो र ट्रयाक्टर लिएर हिलो माटो संघर्ष गरिरहेका छन । मानौ खुशी हुनू पर्ने हो । तर विडम्बना हरेक वर्ष झै यस वर्ष पनि किसानको निधारमा चिन्ताका धर्साहरु प्रष्ट देखिन्छन । कारण एउटै छ मानो रोप्ने बेला भइसक्यो तर माटोमा हाल्ने रासायनिक मल खोइ ?
नेपाल कृषिप्रधान देश हो र यहाँको अर्थतन्त्रको ठुलो हिस्सा कृषि मै निर्भर छ भन्दै भाषण छाँटने नेता र नीति निर्माताहरुका लागि यो प्रश्न सधै अनुत्तरित नै रहने गरेको छ । किसानसँग उब्जनी गर्ने माटो छ, पसिना बगाउने जाँगर र इच्छाशक्ति छ तर राज्यसंग उनीहरुलाई बेलैमा मल दिने एउटा चुस्त व्यवस्था छैन ।
अहिले देशका विभिन्न भागमा रहेका कृषि समाग्री कम्पनी र सहकारीहरु अगाडी किसानहरुको लामो लाईन देख्न सकिन्छ । कतिपय ठाउँहरुमा त किसानहरु घन्टौँसम्म लाइन बस्दा पनि एक बोरा युरिया वा डिएपी मल नपाएर रित्तो हात घर फर्कनुपर्दाको पिडा कति विदारक होला ?
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा वार्षिक रुपमा करिब ५ देखि ६ लाख मेट्रकटन रसायनिक मलको आवश्यता पर्छ । मुख्यगरी धान र मकै बालीको सिजनमा मलको माग अत्यधिक हुन्छ । तर सरकारले बजेट छुट्याएर आयात गर्ने मल बार्षिक २ देखि ३ मेट्रकटन को हाराहारीमा मात्र सीमित हुनेगरेको छ । माग र आपुर्ति बीचको यो ठूलो खाडल नै हरेक बर्षको हाहाकारको मुख्य कारण हो ।
बेलैमा मल हाल्न नपाउँदा धान लगाउनका मुख्य बालीहरुको उत्पादन २५ देखि ३० प्रतिशत सम्म घटने कृषि विज्ञहरुको अनुमान छ । उत्पादन घटनु भनेको केवल किसानको आम्दानी घटनु मात्र होइन यसले सिङगो देशलाई नै खद्यान्न संकटतर्फ धकेल्नु हो । हिजोका दिनमा चामल निर्यात गर्ने नेपाल आज खर्बौ रुपैयाको चालम र खद्यान्न अन्य देशबाट आयात गर्न बाध्य छ । रसायनिक मलको यही चरम अभावका कारण कतिपय युवाहरु खेतीयोग्य जमिन बाँझो छोडेर बैदेशिक रोजगारीका लागि खाडिमुलक पलायन भइरहेका छन ।
अबको बाटो कुरा होइन ठोस काम चाहियो ।
हरेक वर्ष दोहोरिने यो मल संकटको दिर्घकालिन समाधान नखोज्ने हो भने नेपालको कृषि क्षेत्र कहिल्यै माथि उठन सक्दैन । यसका लागि सरकारले केही ठोस कदम चाल्न ढिला भइसकेकोछ ।
१) ठेकेदारी प्रथाको अन्त्य र G2G सम्झौता अगाडी बदाईनु पर्ने ।
२) स्वदेशमै मल कारखानको सम्भावना , कारखाना स्थापनाका लागि गृहकार्य र लगानी सुरु गरिनुपर्छ ।
३) प्राङगारिक खेतीलाई प्रोत्साहन, प्राङगारिक मलको प्रयोग र कम्पोष्ट मल बनाउने आधुनिक प्रविधिका बारेमा तालिम तथा अनुदानको व्यवस्था गर्नुपर्दछ ।
निस्कर्ष ः
नेपाली किसानले सरकार संग सित्तैमा सम्पति मागेका होइनन्न, उनिहरुले त केवल आप्नो श्रमको सही मुल्य र उत्पादन बढाउने आधारभुत साधन मल मागेका हुन । जबसम्म किसानका खेतका गराहरुले बेलैमा मल पाउदैनन् तवसम्म देश आत्मनिर्भर बन्ने कुरा केवल कागज र भाषणमा मात्र सिमित रहनेछ । सरकारले बुझन जरुरी छ देश समृद्ध बनाउने हो भने सबैभन्दा पहिले माटो र जाँगर भएका किसनको हातमा मल थमाउनुपर्छ । धन्यवाद







