धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–७, देवहरियास्थित हुलाकी टाेल क्षेत्रमा दिनदहाडै सहकारीको रकम लुटपाट भएको छ। दैनिक बचतकर्ताबाट संकलन गरिएको रकम सहकारीमा लैजाने क्रममा दुइ जनाको समूहले बचत संकलनकर्तालाई बाटोमै रोकेर रकम लुटेको बताइएको छ।
२०८३ साल कार्तिक १० गते दिउँसो करिब १२ः३० बजे दाइजो कृषि सहकारी संस्था लिमिटेडको रकम लुटपाट भएको हो। सहकारीका व्यवस्थापक बासुदेव रानाका अनुसार बचत संकलनकर्ता निलास चौधरी उर्मा, उर्मि, कनरी र बेली गाउँका बचतकर्ताबाट रकम संकलन गरी कार्यालय फर्किने क्रममा लुटपाटमा परेकी हुन्।
चौधरीले संकलन गरेको कुल १ लाख ३२ हजार ४२० रुपैयाँ झोलामा राखेर सहकारीतर्फ फर्किरहेका बेला धनगढी उपमहानगरपालिका–७, देवहरियाको हुलाकी टोलमा दुइ जनाको समूहले बाटो रोकेर रकम लुटेको बताइएको छ।
प्राप्त विवरणअनुसार लुटपाटमा संलग्न व्यक्तिहरूले खुकुरी देखाएर डरत्रास सिर्जना गर्दै रकम लुटेका थिए। घटनाका क्रममा भएको भागदौड र होहल्लापछि स्थानीय बासिन्दाले घटनाबारे थाहा पाएका थिए।
त्यसपछि स्थानीयवासीहरू जम्मा भएर लुटपाटमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए। सोही क्रममा अमर बुढा र समिर राना नाम गरेका २ जनालाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिने क्रममा, अमर बुढालाइ नियन्त्रणमा लिएकाे र १ जना चहि फरार रहेकाे बताइएको छ।
घटनामा लुटिएको सम्पूर्ण रकम बरामद भएको छ। यद्यपि, बरामद रकमको आधिकारिक पुष्टि र घटनाको विस्तृत विवरण सम्बन्धित निकायबाट पुष्टि हुन बाँकी छ। घटनाका क्रममा साइकल र खुकुरीसमेत प्रयोग भएको बताइएको छ। घटनास्थलबाट बरामद भएका सामग्री सुरक्षाकर्मीलाई बुझाइएको जानकारी प्राप्त भएको छ।
घटनाकाे क्रममा नियन्त्रणमा लिइएका व्यक्तिहरूको संलग्नता, लुटपाटको वास्तविक अवस्था तथा घटनासँग सम्बन्धित अन्य विषयमा प्रहरी अनुसन्धानपछि थप विवरण स्पष्ट हुन बाँकी छ।






