नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले अभियानको उद्घाटन गरेका हुन् ।

पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार महाधिवेशनको तयारीसँगै जनतासँगको सम्बन्ध बलियो बनाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो। अभियानका क्रममा सरकारका जनविरोधी कामको भण्डाफोर गर्नुका साथै जनताका समस्या र जनजीविकाका सवाल उठाइने उनले बताए ।

आजदेखि मंसिर २५ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत पार्टी सदस्यता नवीकरण, नयाँ सदस्य विस्तार, संगठन सुदृढीकरण तथा राजनीतिक–वैचारिक प्रशिक्षणका कार्यक्रम सञ्चालन गरिनेछन्। साथै, जनताबाट पार्टीको नीति, विचार र कार्यशैलीबारे सुझाव संकलन गरिनेछ।

अभियानमार्फत महँगी, बेरोजगारी, भ्रष्टाचार र बेथितिविरुद्ध जनमत निर्माण गर्ने, राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, सुशासन र सामाजिक न्यायका मुद्दामा जनतालाई सचेत बनाउने पार्टीको लक्ष्य छ।

यसैगरी, पार्टीका विभिन्न तहका संगठनलाई सक्रिय बनाउने, महिला, युवा, किसान, श्रमिकलगायत समुदायको सहभागिता बढाउने तथा आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारी गर्ने कार्यक्रम पनि अभियानमा समेटिएको छ। स्थानीय तह निर्वाचनअघि वडा र पालिका अधिवेशनसमेत गर्ने नेकपाले जनाएको छ ।

सेयर कर दियो ।