धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–७, मनेहरामा आयोजना हुने खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताका लागि टिम दर्ता खुल्ला गरिएको छ । मनेहरा स्पोर्ट्स क्लबले एक सूचना जारी गर्दै प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा क्लबहरूलाई समयमै टिम दर्ता गराउन अनुरोध गरेको छ ।
क्लबका अनुसार प्रतियोगिता २०८३ कात्तिक १३ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुने टिमले कात्तिक ११ गते साँझा ६ बजेसम्म दर्ता गराइसक्नुपर्ने सूचनामा उल्लेख छ । टिम दर्ता शुल्क रु. १ हजार ५०० तोकिएको छ ।
प्रतियोगिता (FIVB) को नियमअनुसार सञ्चालन गरिने जनाइएको छ । प्रतियोगितामा एउटै वडाका खेलाडीले मात्र सम्बन्धित टिमबाट खेल्न पाउने व्यवस्था गरिएको छ । खेलाडीले आफ्नो नागरिकता वा मान्य परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ । नागरिकता वा लाइसेन्सको मोबाइलमा खिचिएको फोटो तथा फोटोकपीलाई मान्यता नदिइने आयोजकले जनाएको छ ।

प्रत्येक टिममा लिब्रोसहित ९ जना खेलाडी, एक जना टिम प्रशिक्षक र एक जना व्यवस्थापक रहने व्यवस्था गरिएको छ । खेलका क्रममा रेफ्रीको निर्णय नै अन्तिम हुने सूचनामा उल्लेख छ । निर्धारित समयभन्दा बढी ढिला गरी मैदानमा उपस्थित हुने टिमलाई वाकओभर दिना सकिने व्यवस्था पनि गरिएको छ ।
प्रतियोगितामा खेलाडीलाई चोटपटक लागेमा स्वयं उपचारको व्यवस्था गर्नुपर्नेछ । खेल नकआउट प्रणालीबाट सञ्चालन गरिने र खेलाडीले अनिवार्य रूपमा जर्सी लगाउनुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले रु. ३० हजार, द्वितीय हुने टिमले रु. १८ हजार र तृतीय हुने टिमले रु. ८ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
मनेहरा स्पोर्ट्स क्लबले प्रतियोगितामार्फत स्थानीय खेलकुदको विकास, खेलाडीको प्रतिभा पहिचान तथा आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्य राखेको जनाएको छ ।
थप जानकारी तथा टिम दर्ताका लागि उल्लेख गरेका सम्पर्क नम्बरमा ९८१५६८५३७९, ९८१५६०३०६६, ९८००६३४२६९, ९८२१६०९१४५ सम्पर्क गर्न सकिन्छ ।






