धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१५ कनरीमा न्यू स्टार युवा क्लबको आयोजनामा प्रथम गाईजात्रा नाइट पेनाल्टी सुटआउट प्रतियोगिता आयोजना हुने भएको छ। क्लबले गाईजात्राको अवसर पारेर आगामी २०८३ साल भदौ १३ गते शनिबार प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा खेलप्रेमीहरूलाई आयोजकले आफ्नो टिमसहित सहभागिता जनाउन आग्रह गरेको छ।

प्रतियोगिता धनगढी उपमहानगरपालिका–१५, कनरीस्थित कुटिया पुल तलको खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ। खेल बेलुका ६ बजेबाट सुरु हुनेछ। रातिको समयमा आयोजना हुने भएकाले प्रतियोगितालाई ‘नाइट पेनाल्टी सुटआउट’ नाम दिइएको हो। स्थानीय युवाहरूलाई खेलकुदमा सक्रिय बनाउने तथा स्वस्थ मनोरञ्जनको वातावरण सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।
प्रतियोगितामा सहभागी हुन टिम दर्ता शुल्क १ हजार ५ सय रुपैयाँ तोकिएको छ भने रि–इन्ट्री शुल्क ७ सय ५० रुपैयाँ रहेको छ। एउटा टिममा किपरसहित जम्मा ६ जना खेलाडी हुनुपर्ने व्यवस्था गरिएको छ। प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ। एउटै खेलाडीले एकपटक कुनै टिमबाट खेलिसकेपछि पुनः अर्को टिमबाट खेल्न पाउने छैन। त्यस्तो अवस्थामा खेलाडीले अर्को टिमबाट खेलेको प्रमाणित भए सम्बन्धित टिमलाई सोझै नकआउट गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताका क्रममा खेलाडीलाई कुनै किसिमको चोटपटक वा दुर्घटना भएमा त्यसको जिम्मेवारी सम्बन्धित खेलाडी तथा टिम स्वयंले लिनुपर्ने नियम राखिएको छ। खेलसम्बन्धी कुनै विवाद उत्पन्न भएमा आयोजकको निर्णय नै अन्तिम हुने जनाइएको छ। खेल नकआउट प्रणालीमा सञ्चालन हुने भएकाले प्रत्येक खेलाडीले अनुशासित रूपमा रेफ्रीको निर्णयको पालना गर्दै खेल्नुपर्नेछ। आयोजकले खेलाडीहरूलाई खेलभावनाका साथ प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ।
आयोजकका अनुसार पहिलो चरणको खेल नसकिएसम्म मात्र रि–इन्ट्री गर्न पाइनेछ। प्रतियोगितामा सहभागी हुने टिम तथा खेलाडीले तोकिएका नियम तथा समयको पालना गर्नुपर्नेछ। साथै प्रतियोगिता सञ्चालनका क्रममा आवश्यकताअनुसार आयोजकले नियम कार्यान्वयन तथा व्यवस्थापन गर्ने जनाएको छ।
प्रतियोगिताको विजेता टिमले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टिमलाई नगद १२ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ। त्यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बेस्ट गोलकिपरलाई १ हजार ५ सय रुपैयाँ र बेस्ट गोलकर्तालाई पनि १ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकले प्रतियोगितामा २० टिमभन्दा कम सहभागिता भएमा पुरस्कार राशिमा आयोजकको निर्णयअनुसार घटबढ हुन सक्ने स्पष्ट पारेको छ । प्रतियोगितालाई सफल बनाउन स्थानीय खेलाडी, युवा, खेलप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहयोग आवश्यक रहेको क्लबले जनाएको छ ।
न्यू स्टार युवा क्लब कनरी, कैलालीले गाईजात्राको अवसरमा आयोजना गर्न लागेको प्रतियोगितामा स्थानीय तथा आसपासका क्षेत्रका खेलाडीहरूको उल्लेख्य सहभागिता हुने अपेक्षा गरेको छ। क्लबले इच्छुक टिम तथा खेलाडीहरूलाई समयमै दर्ता गरी प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ । प्रतियोगितासम्बन्धी थप जानकारीका लागि ( राजकुमार चौधरी नं. ९८११६१९२७५ र अमित खाती नं. ९७०८४५०६७८ ) मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।





