कञ्चनपुरको  कृष्णपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत उच्च शिक्षा अध्ययनरत ६९ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ।

नगरपालिकाको ‘लबरु रानाथारु उच्च शिक्षा छात्रवृत्ति वितरण कार्यक्रम ‘ अन्तर्गत दलित कोटाबाट २० जना, अपाङ्गता कोटाबाट २ जना र जनजाति कोटाबाट ४६ जना गरी कुल ६९ जना विद्यार्थीलाई जनही रु. ५,००० का दरले ३ लाख ४८ हजार रुपैया बराबरको  छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू कञ्चनजंगा क्याम्पस र कञ्चन बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययनरत रहेका छन् । 

कृष्णपुर नगरपालिकाले उच्च शिक्षामा अध्ययनरत आर्थिक तथा सामाजिक रूपमा लक्षित वर्गका विद्यार्थीलाई शिक्षामा निरन्तरता सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको भनेर नगर प्रमुख हेमराज ओझाले बताए ।

कृष्णपुर नगरपालिकाले २०८३ जेठ ६ गते सूचना प्रकाशन गरी आवेदन माग गरेको थियो । प्राप्त आवेदनबाट दलित, जनजाति, अपाङ्गता भएका विद्यार्थी तथा अन्य लक्षित समूहबाट छनौट भएका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।