नरेश राना /लालझाडी 

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्कीले जातीय भेदभाव तथा छुवाछुत जस्तो अमानवीय व्यवहारको अन्त्य नगरी समतामूलक, सभ्य र समृद्ध समाज निर्माण सम्भव नहुने बताउनु भएको छ।कञ्चनपुरको लालझाडी गाउँपालिकामा २१ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस-२०८३ को अवसरमा आयोजित भेदभाव उन्मूलन सम्बन्धी सचेतना तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री सार्कीले संविधान र कानुनले छुवाछुतलाई दण्डनीय अपराध घोषणा गरिसकेको भए पनि समाजका विभिन्न तहमा अझै विभेदका घटना देखिनु दुःखद रहेको बताउनुभयो।जातीय भेदभाव अन्त्यका लागि सरकार, स्थानीय तह, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकको साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै समानता, सामाजिक न्याय र मानव अधिकारको प्रत्याभूति मार्फत मात्र समुन्नत राष्ट्र निर्माण गर्न सकिने धारणा राख्नुभयो।कार्यक्रममा लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले गाउँपालिकाले समावेशी विकास, सामाजिक सद्भाव तथा समान अवसरलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै जात, धर्म, लिङ्ग वा समुदायका आधारमा कुनै पनि नागरिक विभेदमा पर्न नहुने भन्दै स्थानीय तहबाट सामाजिक रूपान्तरण र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

गाउँपालिका उपाध्यक्ष सपना राना चौधरीले समाजमा अझै विद्यमान जातीय विभेदका सोच र व्यवहारलाई परिवर्तन गर्न परिवार, विद्यालय र समुदायस्तरबाट सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै समानता र सम्मानको संस्कृतिको विकास भए मात्र विभेदमुक्त समाज निर्माण सम्भव हुने बताउँदै सबै नागरिकलाई सामाजिक सद्भाव कायम राख्न आग्रह गर्नुभयो।कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले दिवसको औचित्यमाथि प्रकाश पार्दै जातीय विभेद तथा छुवाछुत उन्मूलनका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने बताउनुभयो। व्यवहारगत परिवर्तन, सामाजिक जागरण र सबै पक्षको सक्रिय सहभागिताबाट मात्र विभेदमुक्त समाज निर्माण गर्न सकिने उल्लेख गर्नुभयो।

“जातीय भेदभाव र छुवाछुत रहित समतामूलक, सभ्य र समुन्नत राष्ट्र निर्माण गरौँ” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विभिन्न समुदायका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, सामाजिक अभियन्ता, शिक्षक, विद्यार्थी तथा सरोकारवालाहरूको सहभागितामा अन्तरक्रिया गरिएको थियो ।

लालझाडी गाउँपालिकाको आयोजना,आदिवासी जनजाति संघ अन्तर्गत समावेशी गुणस्तरीय शिक्षा परियोजनाको समन्वय तथा खुलासा मिडिया हाउस धनगढीको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा सामाजिक समावेशिता, समान अवसर तथा विभेदमुक्त समाज निर्माणमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो ।

सम्मानित हुनेहरूमा आचार्य कृष्ण दमाई, पण्डित गणेश प्रसाद पन्त तथा पत्रकार लालबहादुर एस.के. रहेका छन्।उनीहरूलाई सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले जानकारी दिनुभयो।