धनगढी : धनगढीको नवजीवन अस्पतालमा उपचाररत युवतीको मृत्यु भएको छ । प्रहरीकाअनुसार कैलालीको गोदावरी नगरपालिका-६ लालपुर बस्ने २२ वर्षीया सनम बिकको गएराति उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले टन्सिलसम्बन्धी समस्याको उपचारका लागि बिकलाई नवजीवन अस्पताल भर्ना गरिएको पाइएको बताए । उनकाअनुसार जेठ ९ गते बिकको टन्सिलको शल्यक्रिया गरिएको थियो । त्यसपछि डिस्चार्ज भएर घर फर्किएकी बिकको स्वास्थ्य पुन: बिग्रिएको थियो ।
मुखबाट रगत बग्न थालेपछि मंगलबार फेरि उपचारका लागि अस्पताल ल्याइएको थियो । उनलाई आईसीयूमा राखेर उपचार भइरहेकोमा बुधबार बिहान पौने ३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्युपछि आफन्तजनले चिकित्सकको लापरबाहीका कारण घटना भएको आरोप लगाउँदै विरोध जनाएका छन् । उनीहरुले मृतकका परिवारलाई अस्पतालले उचित क्षतिपूर्तिसहित घटनाको छानबिन गरी चिकित्सकलाई करवाही गर्नुपर्ने माग गरेका छन् ।
अहिले मृतकका आफन्त र अस्पताल प्रशासन विच छलफल भईरहेको बताईएको छ ।







